काठमाडौं। ललितपुरको झम्सिखेलको दि फोएरमा ३० बर्ष मुनिका ६० भन्दा बढी युवायुवतीहरु गफ गर्दै थिए, गफको विषय थियो रञ्जना लिपि गफ। युवायुवतीहरुमाझ ३ नंबर प्रदेशका सांसद राजेश शाक्य पनि गफिँदै थिए।

लिपि गफ गर्ने क्रममा सांसद शाक्यले रञ्जना लिपिको महिमाको गुणगान गर्दै थिए । संयुक्त राष्ट्रसंघमा नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा प्रस्तुत गर्ने काम रञ्जना लिपिको अहम भूमिका रहेको सांसद शाक्यले बताए । राष्टको पहिचान गराउने रञ्जना लिपिलाई सबै नेपालीमाझ पु-याउन आफ्नो सांसद कोषको पचास लाख रुपैया रञ्जना लिपिको प्रचारप्रसार अभियानमा लगाएको कुरा भनिरहदा उपस्थित युवायुवतीहरु निकै उत्साहित भएका थिए। साथै लिपि गफमा नयाँ पुस्ता गफिन आएकोमा सांसद शाक्यलाई अत्यन्त खुशी लागेको बताए।

नेपाल लिपि गुथिले आयोजना गरेको लिपि गफमा गुथिका अध्यक्ष ई निरञ्जन ताम्राकारले आफ्नो गफ सुनाउने क्रममा नयाँ पुस्तालाई नेपालको मौलिक लिपिहरु सिकाए भने कमसेकम पचास बर्षसम्म उनीहरुले अरुलाई सिकाउन सक्छन् भने । लिपि गफ गर्ने क्रममा मिस नेवाः ११३२ सुनिता डंगोलले नेपाल लिपि गुथिसंगको सहकार्यमा आफ्नो टिमले विभिन्न जिल्लामा गएर क्यालिजात्राको नाममा रञ्जना लिपि वर्कशप गरेको रमाईलो अनुभव सुनाए । क्यालिजात्रामा ४ हजारभन्दा बढीलाई रञ्जना लिपि सिकाएको सुनिताले बताइन्।

युवायुवतीहरु गफ गर्ने क्रममा ७ वटा समुहमा बाँडिएर खाजा खाँदै लेखेरै छलफल गरे । आधा घण्टाजति गफेपछि सबै समूहले निकालेका निश्कर्ष सुनाउन तम्तयार भए ।
उनीहरुले ग्राफिक्स र एनिमेशन सिक्न आउनेहरुलाई एनिमेशनमा रञ्जना लिपि पनि राखेर सिकाउने जुक्ति निकाले भने अर्काे समुहले वेविनार गरेर विदेशमा रहेका आफ्ना साथीहरुलाई रञ्जना लिपि सिकाउने ईच्छा व्यक्त गरे । गफकै क्रममा एउटा समुहले क्तबचदयह मा जस्तै कफी चिया पिउन आउनेहरुको नाम कपैमा रञ्जना लिपिले लेखेर दिँदा ग्राहक निकै दंग हुने कुरा सुनाए ।

अर्का एक समुहले रञ्जना लिपिलाई बर्थडे केक र कार्डमा पनि प्रयोग गर्न सक्ने बताए भने अर्का एक समुहले भालेन्टाइन डे र टोकन अफ लभमा पनि व्यापक रुपमा रञ्जना र नेपाल लिपि प्रयोग गर्न सक्ने बताए । मोबाइलको Gift र स्टिकरमा रञ्जना र नेपाल लिपिबाट विभिन्न सन्देश लेख्न सकिन्छ यति मात्र हैन युट्युवबाट लिपि सिकाउन सक्ने कुरा पनि गरे । फेसबुकमा विभिन्न प्रकारका फोटो राखे जस्तै रञ्जना र नेपाल लिपिबाट लेखेको शिलालेख र यसको लिपि अनुवाद मात्र राख्न सके पनि धेरै ऐतिहासिक तथ्य पनि थाहा पाउन सक्ने कुरा अघि सारे । र, अन्त्यमा एक समुहले बच्चाहरुको स्कुल व्यागमा स्कुलको नाम छापेर दिंदा रञ्जना र नेपाल लिपिको प्रचार प्रसार निकै व्यापक हुने बताए ।

३ घण्टा लामो लिपि गफको अन्त्यमा गुथिका उपाध्यक्ष अनिल स्थापितले रञ्जना लिपिको ऐतिहासिक पक्षका बारे केहि प्रकाश पार्नु हुँदै असार १४ गत काठमाडौंको वसन्तपुरमा गुथिले वृहत लिपि नखः गर्ने जानकारी प्रदान गरे ।
प्रकाशन मिति–२०७६ साल असार १० गते मंगलवार ।