हेटौडा । सवैको चासो र व्यापक आकर्षणको केन्द्र रहेको ३ नंबर प्रदेशको नाम बागमती कायम भएको छ। यसको स्थायी राजधानी हेटौडा नै निश्चित गरेको गरेको छ। ३ नंर प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो।

३ नंबर प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो। नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए। प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन।

यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए। प्रस्तावको पक्षमा १०४ मत परेको छ भने विपक्षमा तीन मात्र परेको थियो। विवेकशील साझाका तीन सांसदले काभ्रेको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर, ३ नंबर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको छ।
प्रकाशन मिति–२०७६ साल पुस २७ गते आइतवार ।