काठमाडौं। आगामी नयाँ बर्षको बैशाख महिनासम्म ३ नंबर प्रदेशमा १५ वटा विजुली बसहरु संचालन हुने भएको छ। त्यस संवन्धमा ३ नंबर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित लगायतको संयुक्त बैठकमा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने निर्णय भएको हो।

३० करोड लगानी गरी १५ वटा बस सञ्चालन गरिने भएको छ। एउटा विजुली बसको लागत करिब २ करोड पर्नेछ। ३ नंबर प्रदेशमा विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन प्रक्रियालाई तीव्रता पारिँदै लगिने ३ नंबर प्रदेशका मुख्यमन्त्री पौडेलले बताएका छन्।

आगामी नयाँ बर्ष २०७६ सालको वैशाखमा १५ वटा विजुली बस काठमाडौंबाट चढेर हेटौंडासम्म पुग्ने चाहना र योजना रहेको मुख्यमन्त्री पौडेलले भनेका छन्। उनका अनुसार प्रदेशकै नाममा ती बसहरू सञ्चालन हुनेछन्।

अबको वि.सं. २०८५ सम्ममा इन्धनबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विस्थापन गर्ने लक्ष्यसहित संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ। शहरमा धेरै मानिस अटाउनेगरी ठूला बसहरू आवश्यक भएको बताउँदै मेयर शाक्यले अब विद्युतीय बसहरूलाई नै प्राथमिकता दिने कुरामा जोड दिएका छन्।

सार्वजनिक निजी साझेदारीमा विद्युतीय बसहरू सञ्चालन गर्नेगरी महानगर अघि बढ्ने मेयर शाक्यको भनाई रहेको छ। यसअघि पहिलो पटक नेपालमा पाँच वटा विद्युतीय बस ल्याइएको छ। पर्यटकीय क्षेत्र लुम्बिनीको आर्थिक विकासका लागि भन्दै एडिबीको सहयोगमा ती बस ल्याइएको हो।

प्रकाशन मिति–२०७५ साल कात्तिक २० गते मंगलवार ।