हेटौंडा। ३ नंबर प्रदेशको प्रदेश सभा सदनमा पनि गुठी विधेयकको बहस भएको छ। सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको गुठी विधेयकको विषयमा काठमाडौं क्षेत्र नंबर ८(क) वाट निर्वाचित जनप्रिय सांसद राजेश शाक्यले गंभीर ध्यानाकर्षण गराएका छन्। ३ नंबर प्रदेश सभाको बैठकमा सत्ताधारी नेकपाकै सांसद शाक्यले गुठी विधेयकको संवन्धमा ध्यानाकर्षण गराएका हुन्।

संघीय सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको बिधेयक २०७५ ले गर्दा जुन रुपले काठमाडौं उपत्यकामा आन्दोलन भैरहेको छ त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। त्यस बिधेयकमा धारा प्रस्ताबना देखि धारा २३,२४,२५,२६ र धारा ५६ को उपधारा ९ धारा ६० मा काठमाडौं उपत्यकाको हकमा आफ्नो गम्भीर आपत्ति रहेको र त्यसलाई खारेज गर्नु पर्ने माग सांसद शाक्यले गरेका छन्।

सांसद शाक्यले काठमाडौं उपत्यकामा जन्म देखि मृत्युसम्मका जीवनयापन तथा संस्कृतिको जीवन्तताको पहिचान गुठीबाट नै हुने जिकिर तथा ठहर गरेका छन्। यसलेगर्दा पनि गुठी विधेयकमा संशोधन गर्नु अत्यन्तै जरुरी रहेको माग सांसद शाक्यको रहेको छ। नेपालमा भएको विश्व सम्पदा मध्ये ७ वटा काठमाडौं उपत्यकामा मात्र छ। यो हुनुको मुख्य कारण नै काठमाडौं उपत्यकामा भएको गुठी ब्यबस्थित संचालन भएर नै हो भनेर सांसद शाक्यले दावी गरेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ ३१ गते शुक्रवार ।