काठमाडौं । बिहीबार वडा ३ नं. वडा समितिको कार्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ। साविक वडा कार्यालयसँगै रहेको ६ आना जग्गामा निर्माण हुने वडा कार्यालय भवनको शिलान्यास भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले विहीवार विहान आयोजित कार्यक्रममा शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा मेयर शाक्यले गएको दुई बर्षमा बिगत बर्षको तुलनामा महशुश हुने प्रगति भएको जिकिर गरेका छन्। नागरिकका चाहनाअनुसार अझ पनि धेरै काम गर्न बाँकी छ। यो क्रमागत पद्धति हो। जनतालाई केन्द्रमा राखेर आफूहरु रात दिन काम गरिरहेका खुलासा गर्दै मेयर शाक्यले सन्तुलित र एकीकृत बिकास आफूहरुको अर्जुन दृष्टि हो भनेका छन्। मेयर शाक्यले शहरी समृद्धिका लागि २०७४ सालको स्थानीय निर्वाचनमा अरु दलले गरेका घोषणा पत्रमा उल्लेख गरेका काम पनि आफूहरुले बार्षिक कार्यक्रममा राखेको बताएका छन्।

कार्यक्रममा ३ नंबर वडाका वडा अध्यक्ष दीपक केसी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाई र २ नंबर वडाका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ समेतको सहभागिता रहेको थियो। तीनतले भवनको भुइँ तलामा ४ वटा चारपाङ्ग्रे र १५ वटा दुई पाङ्ग्रे सवारी साधनको पार्किङ् क्षमता हुनेछ। भवन लिफ्ट, भ¥याङ् र बैठक कक्षसहित अपाङ्गमैत्री हुनेछ।

भवनको पहिलो तल्लामा वडा अध्यक्ष, वडा सदस्य र वडा सचिबको कार्यकक्ष, सोधपुछ कक्ष, भ-याङ् र लिफ्ट हुनेछ । भवनका डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेका हुन्। भवनको दोश्रो तलामा ६० जना क्षमताको बैठक कक्ष, कार्यालय सञ्चालनका लागि कोठा हुनेछन् । भवन निर्माण सम्पन्न भएपछि प्रशासनिक काम र वडामातहतका अन्य सेवा पुरानो भबनबाट सञ्चालन हुनेछ। अगाडिको मोहडा परम्परागत नेपाली शैलीको हुनेछ।

वाइबा एण्ड लामा निर्माण सेवालाई भवन निर्माण कार्यका लागि गएको बर्ष जेठ १४ गते नै कार्यादेश दिइएको थियो । निर्माणसम्बन्धि प्राबिधिक बिबादले ठाउँ परिवर्तन गरेर काम अगाडि बढाउन लागिएको हो। भ्याटसहित २ करोड ७० लाख ३५ हजार ३२५ रुपैयाँ ८५ पैसा लागत इष्टिमेट गरिएको भवन निर्माणका लागि प्रस्तावक वाइवा एण्ड लामा कम्पनीले २ करोड १५ लाख ४२ हजार ९१४ रुपैयाँ ९५ पैसा मा काम कबोल गरेको छ। एक बर्षभित्र वडा कार्यालय भवन निर्माण पूरा गरिने भएको छ। यस अघि ४, ८, ९, १४, १८ र २६ वडा समितिको कार्यालय निर्माणका लागि शिलान्यास भइसकेको छ।                                                 Photo By-Chandra Mani Bhattarai
प्रकाशन मिति–२०७६ साल जेठ १६ गते विहीवार ।