काठमाडौं। नेपालको जेठो महानगर काठमाडौं महानगरपालिकाको १४ नंबर वडा कार्यालय भवन बन्ने भएको छ। बुधवार महानगरको ठूलो वडा १४ नंबर वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम भएको हो।

बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्गमिटर (करीब ८ आना) जग्गामा भवन निर्माणको शिलान्यास कार्य महानगरका मेयर विद्यासुन्दर शाक्यवाट भएको छ। भवन निर्माण गर्ने जिम्मेवारी पि. आर. बाबुरत्न जे. भि. ले ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल गरेर पाएको छ। यसको लागत अनुमान ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा रहेको छ।

आउँदो १ बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी बुधबारबाटै निर्माण कार्य थालिएको १४ नंबर वडाको वडा अध्यक्ष शोभा सापकोटाले भिजन संसार डटकमलाई बताएकी छन्। वडा अध्यक्ष सापकोटाका अनुसार, वडा भवनको भुँइ तलामा ३० वटा मोटरसाइकल अट्ने ठाउँ हुनेछ।

यसबाहेक साढे ४ तलामा बन्ने भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट हुनेछ । यसमध्ये भूमिगत तलाको क्षेत्रफल १९१९.७९ बर्ग फिट र भुइँ तलाको क्षेत्रफल १७८९.०८ बर्गफिट हुनेछ। आरसिसि फ्रेम स्क्ट्रक्चरमा निर्माण हुने भवनमा लिफ्ट जडान हुनेछ। यसको निर्माण सम्पन्न भइसकेपछि वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिनेछ।

भवन शिलान्यास एवम् नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य तथा काठमाडौं क्षेत्र नंबर ९ का संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डा.अजय क्रान्ति शाक्य तथा विणा श्रेष्ठ लगायतकाको विशिष्ट आतिथ्यता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल बैशाख ४ गते बुधवार ।