काठमाडौं। ५ नंबर प्रदेशको स्थायी राजधानीको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेशसभा बैठकमा तोडफोड गरेका छन्। ५ नंबर प्रदेशको स्थायी राजधानी दाङ वनाउने विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन्।

५ नंबर प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टममा पुगेका मन्त्री केसीले नाराबाजीकैक्रममा ५ नंबर प्रदेशको नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरेका थिए।

मन्त्री केसीले प्रस्ताव पेसगरे लगत्तै नाराबाजीमा उत्रिएका कांग्रेस सांसदहरुले आफू बस्ने कुर्सीछेउ पुगेर कुर्सी उचालेर तोडफोड गरेर नाराबाजी गरेका थिए। कांग्रेस सांसद वसिउद्दिन खाँ, अष्टभुजा पाठक र वैजनाथ कलवारले कुर्सी उचालेर प्रहार गरेका थिए। कांग्रेस सांसदहरुको विरोधकाबीच सभामुख घर्तीमगरले प्रस्तावउपरको छलफललाई अघि बढाएका थिए।

सोमबारको बैठकमा बोल्ने सांसदहरुले प्रदेशको नामाकरण र राजधानीका विषयमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। प्रदेशसभामा कुर्सी हानाहान भएपछि प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

प्रस्तावमाथि छलफल सुरु भएर केही सांसदले भाग लिएपछि सभामुख घर्तीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। केही दिनयतादेखि ५ नंबर प्रदेशका स्थायी राजधानी बुटवल नै हुनुपर्ने माग सहित बुटवलमा व्यापक आन्दोलन भैरहेको छ।
प्रकाशन मिति–२०७७ साल असोज १९ गते सोमवार ।