काठमाडौ। विश्वकै सबैभन्दा बढी वजन भएकी इजिप्टकी एक महिलाको भारतको मुम्बई शहरमा शल्यक्रिया हुने भएको छ। वजन घटाउनको लागि ती महिला यतिखेर इजिप्टवाट भारतको मुम्बई शहर पुगेकी छन्।

World's Fat women

५ सय किलोग्रामकी ती महिलाको नाम एमान अहमद अब्देल अती हो। ३६ बर्षिया एमानको बडेमानको जीउको कारण यतिखेर संसार चकित बन्दैरहेको अवस्थामा उनले वजन घटाउने निर्णयले मुम्बई पुग्नु अर्को अनौठौ कुरा हुन पुगेको छ। उनलाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिसा प्रदान गरिएपछि उनका लागि इजिप्टको एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बई लगिएको हो।

उनको उपचार मुम्बईकै सैकी अस्पतालमा हुने भएको छ। चिकित्सकले उनलाई विशेष विमानमा ल्याउँदा समस्या नहोस् भनेर आवश्यक औषधि र विशेष सावधानीसाथ उनको शरीर राख्न मिल्ने वेडकोसमेत व्यवस्था गरेका थिए। उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरूको टोलीले विगत १० दिनदेखि तयारी गरेको थियो।

अब्देल अतीकी बहिनीले विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबरमा पहल गरेपछि भारतीय शल्यचिकित्सक मुफाजल लाकदावालाले अब्देल अतिको सम्पूर्ण उपचार निःशुल्क गर्ने बताएका थिए । तर, उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको थियो। यसबाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उनलाई भिसा पनि मिलेको थिएन।

अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपी र सिन्ह्वाका अनुसार अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको संक्रमण पाइएको थियो। सुरुमा खुट्टाको आकार असाधारणरूपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुन्निएर ठूलो भएको उनकी बहिनीले भनेकी छन्। बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेको र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित छिन्। उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन्।
प्रकाशन मिति–२०७३ साल माघ २९ गते शनिवार ।