काठमाडौं। ६१ बर्ष उमेरकी जवान विश्वविख्यात नेपाली साहित्यकार पुष्पलता आचार्यले लगातार १५ दिन बुलेट यात्रा गरेर नेपाल फर्केकी छन्। लगभग ४ हजार ५ सय किलोमिटरको दूरी पार गरेर नेपालको झण्डा फर्रफराउंदै नेपालको राजधानी काठमाडौं हुंदै भारतको राजधानी नयां दिल्ली, आग्ररा, अयोध्या पुगेर नेपाल फर्केकी छन्।

६१ बर्षको चढ्दो उमेरमा पनि गजबले जवानी जोशमा बुलेट बाइक चलाएर त्यति लामो यात्रा पूरा गरेर आउनु चानचुने कुरा होइन्। प्रारम्भमा पाँचदिन छोराहरुको अगुवाईमा आग्ररा–दिल्ली पुगेकी अग्रज साहित्यकार पुष्पलता आचार्यले त्यसपछि भने एक्लै अयोध्या हुंदै मज्जाले नेपाल फर्केकी हुन्।

हालसम्म नेपाली साहित्यमा विभिन्न विश्वप्रसिद्ध ६३ वटा कृति दिइसकेकी अग्रज साहित्यकार पुष्पलता आचार्यले नसक्ने कुरा नै हुंदैन भन्ने उदाहरण पेश गर्न यसप्रकारको साहसिक कार्य गरेको भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्। १५ दिनको ४ हजार ५ सय किलोमिटरको दौडानमा आफूलाई केही प्रकारको समस्या नभएको र यात्राका क्रममा सवैले सहयोग पाएको बताउंदै भारतमा त आफूलाई बुलेट अम्माको उपाधि पनि दिएको साहित्यकार आचार्यले सगौरब भनेकी छन्।

बुलेट अम्मा अर्थात बुलेट आमा पुष्पलता आचार्यको नयाँ नाम तथा नयाँ आयाम बनेको छ। बुलेटकै माध्यमवाट विश्व भ्रमण गर्ने पुष्पलताको सोच पनि रहेको छ। समयले साथ दिएमा त्यो पनि पूरा गर्ने अभियानमा पुष्पलता रहेकी छन्। आफ्नो ज्यानभन्दा ठूलो वजनदार बुलेट बाइक चलाएर आम नेपाली महिलाहरुलाई चाहना र सोच राखेपछि चढ्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने कार्य पनि पुष्पलतावाट भएको छ।

आफूलाई सानोतिनो कुरा गर्न र चढ्न इच्छा नहुने तथा काम कुरो गर्न र चढ्न ठूलै चढ्नु पर्दछ भन्ने सानैदेखिको चाहना र इच्छाले नै बुलेट राइडर बनेको र यतिखेर बुलेट आमा बन्न सफल भएको तर्क पनि पुष्पलताको रहेको छ। पुष्पलता सोच ठूलै राख्नुपर्ने धारणा राख्छिन्। विसं.२०५४ सालमा आरएक्स मोटरसाइकल चढ्न सिकेतापनि त्यसपछि मोटरसाइकल भन्दा स्कारपियो पजेरो हांक्दै काठमाडौंवाट १७ जिल्लाभन्दा बढी स्थानमा अनवरत आवत–जावत गर्ने पुष्पलताले बुलेट बाइक चढ्न जानेको पनि केही महिना मात्र भएको छ।

बुलेट बाइक काठमाडौंको गल्ली तथा सडकमा नसिकिकन काठमाडौंवाट लमजुङ जाने क्रममा बाइरोडमा नै सिकेकी हुन्। बाइरोडमा नै मज्जाले बुलेट चढ्ने सिकेको केही महिनामा नै काठमाडौंवाट भारतमा बुलेट बाइकवाटै साहसिक बुलेट यात्रा पूरा गरेर फर्केकी हुन्।


प्रकाशन मिति–२०७६ साल असार १६ गते सोमवार ।