Ganga Maya Adhikari
Ganga Maya Adhikari

काठमाडौ। मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानूनव्यवसायी र मानवअधिकारबादीको राय सल्लाहमा वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन्।

हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतले गम्भीरता देखाएर गंगामायाको वकपत्र गराउने आदेश दिएपछि आमरण अनशन तोडेको मानवअधिकारवादी चरण प्रसाईले जानकारी दिए। चितवन अदालतका प्रमुख न्यायाधीश टेकनारायण कुँवरको इजलासले भदौ २६ गते मुद्दामा गंगामायाको समेत वकपत्र गराउने आदेश दिएको थियो।

उक्त आदेश अनुरुप गंगामायाको वकपत्र गराउन असोज २ गते चितवन अदालतका स्रेस्तेदार काठमाडौं आउँदैछन्। गंगाामायाले छोराको हत्याका प्रमाण दिने शर्तमा अनशन तोडेकी हुन्। ६ बर्षदेखि अनशन बस्दै आएकी उनको पछिल्लो आमरण अनशन भने ३२ औं दिन तोडिएको हो। छोरा कृष्णको २०६१ साल जेठ २४ गते चितवनमा माओवादीले हत्या गरेका थिए।

हत्या प्रकरणमा मुद्दा चलाइएका चार अभियुक्तमध्ये गोरखा फुजेलका छविलाल पौडेल र रुद्र आचार्य हालसम्म फरार छन्। तत्कालिन गोरखा जनसरकार प्रमुख रहेका पौडेलको निर्देशनमा आचार्यले गोली हानी हत्या गरेको दाबी प्रहरीको छ। आचार्य बेलायतमा लुकेर बसेकाले इन्टरपोलमार्फत झिकाउने प्रयास भइरहेको छ।

अनशनकैक्रममा दुई बर्षअघि मृत्यु भएका गंगामायाका पति नन्दप्रसाद अधिकारीको अझै अन्त्येष्टी हुन सकेको छैन। अधिकारीको शव पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै छ।
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते बुधवार ।