काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित सुन्धारा धरहरा पछाडि रहेको साविक कित्ता नंबर ५२ को हाल कित्ता नंबर १८४१ र १८४२ कायम भएको ६ आना १ पैसा २ दामको जग्गा रत्नकाजी महर्जन र जुजुकाजी महर्जनको स्वामित्वमा रहेको भनेर सर्वोच्च अदालतले फैसला गरेको पनि ६ बर्ष भैसकेको छ। यद्यपि, फैसलाको कार्यन्वयन हुन नसक्दा संवन्धित जग्गाधनीहरुले हालसम्म भोगचलन गर्न नपाएको गुनासो गरेका छन्।

बुधवार पत्रकार सम्मेलन गरेर उक्त जग्गाका सरोकारवाला जग्गाधनी रत्नकाजी महर्जन र जुजुकाजी महर्जनले फैसला कार्यन्वयन गर्न काठमाडौं महानगरपालिकाले चासो नदिएको कारण आफूहरु मर्कामा परेको बताए । आफूहरुको भोगचलनको जग्गामा भोगचलनका लागि जाँदा पटक पटक प्रहरी गिरफ्तारीमा पर्नुपरेको दुःखेसो रत्नकाजी महर्जनले गरेका छन्।

सर्वोच्च अदालतले मिति २०७२ असार ७ मा वृहत इजलाशले सो जग्गा घर आफूहरुको स्वामित्वमा रहने गरि फैसला गरेको र काठमाडौँ महानगरपालिकालाई सो स्थान खाली गराइदिन विभिन्न समयमा गरेर ५ पटक महानगरपालिकामा अदालतले दिएको आदेश कार्यान्वयन गराउन निवेदन दिएको र हालसम्म महानगरले नगरेको महर्जनको गुनासो रहेको छ।

नरेन्द्र बिक्रम राणाको नााममा जग्गा धनि पुर्जा रहेको सो जग्गा टहरा सावित्री तिमिल्सिना र भेषराज न्यौपाने हुंदै २०६१ साल मा रत्नकाजी र जुजुकाजी महर्जन दाजुभाइले खरिद गरि नाउसारि भएको देखिएको छ। उक्त जग्गाको नियमित रुपमा भूमिकर महर्जन दाजुभाइले नै तिर्दैआएका छन्। पत्रकार सम्मेलनमा भूमिकर सहित फैसलाका सवै कागजात र फैसला कार्यन्वयनका आदेश पत्र पनि पेश गर्ने कार्य महर्जन दाजुभाइवाट भएको छ।
प्रकाशन मिति–२०७८ साल मंसीर २ गते विहीवार ।