काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमणवाट बच्न र बचाउन गरेको लकडाउनको कारण झण्डै ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा आज सोमवारबाट शुरु भएको छ।

आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ६ महिनापछिको पहिलो आन्तरिक उडान बन्न सफल भएको हो। सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा शुरु भएको हो।

आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ। १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनेछ।

पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन्।
प्रकाशन मिति–२०७७ साल असोज ५ गते सोमवार ।