काठमाडौं। नेपालका खरो तथा स्पष्ट विचारका प्रखर भनिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीसँग सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो प्रकरण भएपछि विहीवार बाँस्कोटाले राजिनामा दिएका हुन। यस प्रकरणको गम्भीररुपमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदनका दुवै सदन अवरुद्ध गरेको छ।

अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपनि घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी दिनुपर्ने माग राख्दै सदन अवरुद्ध गरेको हो। सत्तारुढ दलका सांसदहरुले पनि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

प्रतिपक्षका सांसदहरुले विरोध जनाएपछि सभामुखले प्रतिपक्ष दललाई बोल्ने समय दिए। उक्त समयमा बोल्दै प्रतिपक्ष दल कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले घटनाको प्रधानमन्त्री ओलीले सदनमा जानकारी दिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिन्।

राष्ट्रियसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरुले विरोध गर्दै सरकारका प्रवक्ताको बर्खास्ती, घटनाबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिनुपर्ने र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका थिए। प्रतिपक्ष दल कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको थियो।

प्रतिपक्ष दल कांग्रेसले सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएपनि घटनाबारे प्रधानमन्त्रीले प्रष्ट नपारेसम्म सदन चल्न नदिने चेतावनी दिएको छ। सत्तारुढ दलकै सांसदहरुले पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशन मिति–२०७६ साल फागुन ९ गते शुक्रवार ।