काठमाडौ। नेपालका ख्यातिप्राप्त साहित्यकार मनु ब्राजाकीको आज शुक्रबार बिहान १०ः३० बजे ७५ वर्षका उमेरमा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको छ। आजै साहित्यकार ब्राजाकीको दाह संस्कार पशुपति आर्यघाटमा गरिएको हो।

विसं २०६० देखि मस्तिष्क शिरोघात समस्याले पीडित ब्राजाकी मंसिरको अन्तिम हप्ता अस्पताल भर्ना भएका थिए। विसं १९९९ साउन १९ गते महोत्तरीको औरहीमा जन्मेका चेतमानसिंह भण्डारी नेपाली साहित्यमा मनु ब्राजाकीका नामले चिनिएका हुन्।

बनारसमा अध्ययन गर्दादेखि गजल विधामार्फत साहित्य सिर्जनामा लागेका ब्राजाकीले नेपाल फर्किएपछि भने कथा विधामा पनि कलम चलाएका हुन्।

कथा, गजल, संस्मरण र स्तम्भ लेखनमा सक्रिय ब्राजाकीका ‘तिम्री स्वास्नी र म’, ‘अवमूल्यन’, ‘पारदर्शी मान्छे’, ‘अन्नपूर्णाको भोज’, ‘जनजीवनका जीवनगाथा’, ‘मनु ब्राजाकीका लघुकथा’, ‘गजल गंगा’, ‘काँडाको फूल’, ‘आगोले त पोल्छ, पोल्छ पानीले पनि पोल्छ’ लगायत कृति प्रकाशित छन्।

प्रकाशन मिति–२०७४ साल माघ १९ गते शुक्रबार ।