काठमाडौं। ८ लाख घुस खाने उपकुलपतिले ४८ लाख धरौटी राखेर छुटेका छन्। त्यो पनि विदेशमा नभइकन नेपालमा नै हो। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ परेका थिए। यिनै उपकुलपति रौनियार ४८ लाख धरौटी राखेर मंगलवार जेल मुक्त बनेका हुन्।

उपकुलपति रौनियारसँगै पक्राउ परेका अर्का व्यक्ति डाक्टर रामहरि रौनियारपनि ४ लाख धरौटीमा छुटेका छन्। उनीहरुलाई विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि २६ असारमा दुवैजनालाई धरानस्थित उपकुलपति निवासबाट ८ लाख घुससहित रंगेहात पक्राउ गरिएको थियो। प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग रौनियाद्वयले भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस मागेका थिए।
प्रकाशन मिति–२०७६ साल साउन २१ गते मंगलवार ।