Page No. 8-Shashi Rawalकाठमाडौ । नेपाली संगीत बजारमा गायिकाको अलवा संगीतकारको बेग्लै छवि राख्ने कार्य शशी रावलबाट भएको छ । सुन्दरी गायिकाको उपमा समेत पाएकी यी गायिकाको सांगीतिक करियर आजभन्दा १० बर्ष अगाडिबाट भएको हो । यसअवधिमा शशीका तीन वटा गीति–एल्वम सार्वजनिक भैसकेको छ । चाहना सकियो बहाना सकियो, तिम्रो हात समाइ, त्यो ज्यानले मा¥यो बोलका लगायतका आधा दर्जन भन्दा बढी गीत हिट बनिसकेको छ । कवाली टाइपको गीत गाएर पनि उनले नयाँ रेकर्ड राखिसकेकी छन् । उनी नयाँ एल्वम निकाल्ने तयारीमा रहेकी छन् । संगीतकार पनि रहेकी उनले १० वटा गीतको कम्पोज गरिसकेकी छन्। उनी नेपाल संगीतकार संघको कार्यसमिति सदस्य पदमा निर्वाचित पदाधिकारी समेत बनेकी शशी रावलको शव्दमा उनकै सोच र विचार–

१. संगीत र गायन
संगीत र गायन यो मेरो जिन्दगीसंग जोडिएको नाम नै हो । संगीत र गायन मेरो लागि बाँच्ने औषधि नै जस्तो लाग्छ । म संगीत र गायनबाट टाढा कहिले पनि हुन सक्तिन । मलाई लाग्छ–म संगीतकै लागि बाँचेकी हुँ । संगीत नै मेरो जीवन हो । सानैबाट मेरो सपना संगीत नै बन्यो । सानैदेखि मलाई गाउन असाध्यै मन पर्दथ्यो । मेरो रुचिको विषय नै संगीत भएकोले मैले यसलाई प्यासनकै रुपमा लिए। त्यही प्यासनले म गायिका एवम् संगीतकार बनेकी छु । संगीत बाहेक मैले हालसम्म अरु सोचेकी छैन् । संगीतले नै हालसम्म मलाई बचाइराखेको छ । संगीत बाहेक मेरो अर्को जब छैन् । संगीतले अव जीवन धान्न अलि गाह्रो होला जस्तो भएको छ । साइड जब गर्ने सोचमा रहेकी छु । यसको मतलव कसैको अण्डरमा बसेर जागिर खान खोजेकी होइन । कुनै व्यवसाय शुरु गरेर जागिर दिने सोच गरेकी हुँ। शायद म कुनै बिजनेश शुरु गर्छुहोला । मैले बी.बी.एस. पास गरेकी छु । एम.बी.ए. पढ्ने सोचमा त छु । समयले साथ दिएको छैन् । विस्तारै पढ्ने छु ।

२. मोडल र मोडलिङ्ग
मलाई लाग्छ । हरेक मान्छे आफ्नो जीवनको आफै मोडल हो । धेरैले मलाई तपाई मोडल जस्तो पनि छ भन्छन्। म सवैलाई भन्ने गरेकी छु–म मोडल होइन । मेरा कतिपय गीतका भिडियोमा म्युजिक भिडियो निर्देशकहरुले मोडल बनेर मोडलिङ्ग गर्न भनेतापनि मैले मेरै गीतको लिपसिङ्ग बाहेक मोडलिङ्ग गरेकी छैन् । मोडलिङ्ग गर्ने मेरो कार्य होइन जस्तो लाग्छ ।

sashi rawal with her husband

३. फेसन र फेसनेबल
सेलिब्रेटी भएपछि अलि फेसनेबल हुुनु आवश्यक छ । त्यसैले गर्दा अलि–अलि फेसनेबल बनेकी छु । त्यसको मतलव भद्दा फेसन गर्ने पक्षमा छैन् । समय सुहाउंदो फेसन गर्न मलाई बढी मन पर्दछ । अहिले जाडो छ । यो जाडो महिनामा मलाई अरुलाई जस्तो फिटिङ्गवाला बाक्ला पहिरन लगाउन मन पर्दछ । जाडोमा हल्का लङ्ग कोट, बुट लाउने गरेकी छु । स्कुटीमा ओहोर दोहोर गर्नुपर्ने भएकोले वीनसिटर, मास्क तथा पन्जा लाउने गरेकी छु । राम्री बन्न कहिलेकाही व्युटीपार्लर जाने गरेकी भएतापनि सामान्य मेकअप म आफैले गर्ने गरेकी छु । शरीरलाई फिट एण्ड फाइन बनाउन बेला–बेलामा स्पा गर्नु पर्दछ भनेपनि हालसम्म स्पा गरेकी छैन् ।

४. महिला र महिला हिंसा
समाजमा धेरै नै महिला र महिला हिंसाको बारेमा धेरै चर्चा तथा परिचर्चा चल्ने गरेको छ । यो हुनुमा शिक्षाको कमीले नै हो जस्तो लाग्छ । अशिक्षा तथा अज्ञानले गर्दा महिलाहरु स्वयम् सामाजिक रुपमा पिल्सिएर बसेको पाइन्छन् । आफै दबिएर बस्न रुचाउने तथा दबाउनेको विरोध गर्न नसक्नु र त्यसउपर डटेर लड्न नसक्नु नै कमजोरी भैरहेको छ । त्यसैले यसको अन्त गर्न शिक्षा तथा ज्ञानको निक्कै आवश्यक भएको महशुश गरेकी छु । महिला हिंसाको अन्त गर्न स्वयम् महिलाहरु नै तातिनु आवश्यक छ ।

प्रकाशन मिति–२०७२ साल मंसिर २९ गते मंगलबार ।