काठमाडौं। अष्ट्रेलियामा डेढ बर्षअघि नै अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थीहरुको विचल्ली भएको विषयमा नेपाल शैक्षिक परामर्श संघले गम्भिर रुपमा ती विचल्लीमा परेका विद्यार्थीहरुको पक्षमा वकालत गरिरहेको छ। उनीहरुलाई जसरी पनि न्याय दिएर त्यहाँ सुरक्षित रुपमा अध्ययन गर्न र गराउन व्यापक पहल भैरहेको जानकारी नेपाल शैक्षिक परामर्श संघका महासचिव शेषराज भट्टराईले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

महासचिव भट्टराईका अनुसार,अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा श्रृजना भएको समस्याको सम्वन्धमा संघ निरन्तर रुपमा उक्त कलेजको सम्पर्कमा रहेको हुँदा विषयको यथार्थ बास्तविकताको पहिचान गर्न र कलेजसँग समन्वय गरि समस्याको यथासक्य चाँडो उपयुक्त समाधानको प्रयासमा क्रियासिल रहेको छ। त्यसको लागि संघले व्यापक रुपमा प्रतिवद्धता व्यक्त गरेको छ।

महासचिव भट्टराईले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको उनीहरुले पूरा गरिसकेको अध्ययन कार्यको उपयुक्त मान्यताको सुनिश्चितता तथा भईसकेको आर्थिक लगानीको सुरक्षाको लागि क्रियाशील भएर पहल गरिरहेको बताएका छन्। उपयुक्त समाधानका निमित्त नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक पहलकदमी गरिसकिएको छ जिकिर गर्दै महासचिव भट्टराईले समस्या समाधान नभएसम्म संघ अहोरात्र लागिरहने जानकारी पनि दिएका छन्।

यसका अतिरिक्त नेपाल स्थित अष्ट्रेलियन दुतावास, अन्य पेशागत संस्थाहरु तथा सम्वन्धित परामर्शदात्री कम्पनीहरुसँग सघन समन्वय र सहकार्य गरि अष्ट्रेलिया स्थित नेपाली राजदुतावास, अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल अफ ईन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया लगायत अन्य नेपाल र नेपालीसँग सम्वन्धित संघ संस्थाहरुसँग नियमित सहकार्य गर्दै समस्याको उपयुक्त र छिटो समाधान खोज्न सहजिकरण गरिरहने जानकारी पनि महासचिव भट्टराईले दिएका छन्।
प्रकाशन मिति–२०७५ साल फागुन १० गते शुक्रवार ।