काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले इजरायल गएर कार्यभार सम्हालेको महिना दिनभित्रै देखिने कार्य गरेकी छन्। बर्षौ बर्ष देखि इजरायल र जोर्डन वीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसंगै रहेको कालिया समुद्र तटमा राखिएको ‘वर्ल्ड हाइलाइट’ बोर्डमा राखिएको गलत सन्देशलाई परिवर्तन गराउन सफलता प्राप्त गरेकी छन्।

त्यस बोर्डमा विश्वको उच्च शिखर सगरमाथा अर्थात माउण्ट एभरेष्ट चीनमा भनेर उल्लेख गरिएको थियो। त्यस स्थानमा अव नेपालमा भनेर उल्लेख गर्न र गराउन नेपाली राजदूत डा.शाक्यले सफलता प्राप्त गरेकी छन्। नेपाल र नेपालीको गौरब तथा शानलाई उच्च स्थानमा कायम गर्न डा.शाक्यले गरेको पहल तथा गौरबशाली कार्यको इजरायलमा रहेका नेपाली तथा विश्वमा नै रहेका सवै नेपालीहरुले खुलेर प्रशंशा गरेका छन्।

गलत सूचनालाई सच्याउन लगाएर त्यस सूचनामा नेपालको झण्डा समेत राख्न सफलता पाएकी राजदूत डा.शाक्यले ‘निरन्तर प्रयासपछि गलत सूचना सच्याउन सफल भएका छौँ । यसका लागि म र मेरो देशका तर्फबाट इजरायली सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु’ भनेकी छन्। मृतसागर भ्रमणका लागि हरेका वर्ष ४० लाख पर्यटक आउने गरेको जानकारी दिँदै राजदूत शाक्यले भनेकी छन्–,‘ यहाँ वर्षौदेखि राखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा पर्छ भन्ने उल्लेख गरेको देखेँ जसले निकै नरमाइलो महसुस भयो। ’ राजदूत डा.शाक्यले सम्बन्धित निकायका कर्मचारीलाई तुरुन्त सो होर्डिङ बोर्ड हटाउन आग्रह गरेकी थिइन्।

‘निकै ठूलो प्रयासपछिमात्र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश नेपाल हो भनेर मृतसागर हेर्न आउने पर्यटकलाई चिनाउन सफल भएका छौँ। यसैैमा नेपाल र नेपालीको खुशी छ’ भनेर राजदूत डा.शाक्य इजरायलवाट भिजन संसार डटकमलाई बताएकी छन्। अब विश्वको सबैभन्दा होचो अर्थात् समुद्र सतहभन्दा ४२० मिटर तल रहेको मृतसागर (डेथ-सी) पुग्ने जो कोहीले अब सगरमाथा नेपालमै रहको सूचना देख्न पाउनेछन् ।

राजदूत डा.शाक्यले कार्यभार सम्हालेदेखि आफूले प्रतिबद्धता व्यक्त गरेअनुसार धेरै प्रक्रिया अगाडि बढाएको बताउँदै भनेकी छन्–,‘ नेपालका सातै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात् इजरायली उच्च प्रविधि तालिम केन्द्र खोल्ने प्रक्रिया अगाडि बढाइएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्नुहुने इजरायल भ्रमणका क्रममा दुई देशको आपसी हितलाई ध्यानमा राखेर धेरै विषयमा सम्झौता गर्ने तयारी पनि राजदूत डा.शाक्यले भनेकी छन्।
राजदूत शाक्यका अनुसार इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यसमार्फत् कृषि, सूचना प्रविधि, कम्प्युटर, मेडिकल र शिक्षामा विभिन्न एड्भान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्ने लगायतका विषयमा पनि प्रक्रिया अगाडि बढेको छ।

डाक्टर,नर्सिङ र आईटीका लागि मास्टर र पीएचडीको छात्रवृत्ति व्यवस्था गर्ने,कृषि र सूचना प्रविधि, कम्प्युटर र होटल व्यवस्थापनलगायतमा रोजगारीको अवसर सिर्जना गर्ने विषयमा समेत प्रक्रिया अगाडि बढाइएको जानकारी राजदूत डा.शाक्यले दिएकी छन्।
प्रकाशन मिति–२०७६ बैशाख ५ गते विहीवार ।