काठमाडौं । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको ३२ औं कार्यपालिका बैठक संपन्न भएको छ। ब्रुमर खरिद प्रक्रिया अगाडि बढाउने, सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका कार्य मेयर बिद्यासुन्दर शाक्य आफैंले हेर्नेलगायत निर्णय गर्दै काठमाडौं महानगरको ३२ औं कार्यपालिका बैठक विहीवार सम्पन्न भएको हो।

मेयर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने, मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पनि सहमति दिएको छ । कार्यपालिका बैठकमा, विहीवारवाटै बिघटन गरिएको सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि गठित अधिकार सम्पन्न समितिकी संयोजक तथा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा मेयर शाक्यलाई बुझाएकी थिइन्।

नगर कार्यपालिकाको २८ औं बैठकले उपमेयर खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा नंबर १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा नंबर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको दुई छुट्टाछुट्टै अधिकार सम्पन्न समिति गठन गरेको थियो । स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने, उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको थियो।

त्यस समितिले हालसम्म गरेका कामको बिषयमा जानकारी गराउँदै बैठकमा उपमेयर खड्गीले काठमाडौं महानगरभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको जानकारी गराएकी छन्। यस्तै समितिका सदस्य एवं महानगरका प्रवक्ता ईश्वरमा डंगोलले व्यापार हुने ठाउँमा शौचालय चलाउनेको हानाथाप छ, कम व्यापार हुने ठाउँमा लगानी पनि नभएको खुलासा गरेका छन् । अर्का समितिका सदस्य एवं यात्रु प्रतिक्षालय कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जनले साझा मत निर्माण गर्न सकिएन भने काम अधुरो हुने खतराप्रति सजग गराएका थिए।

Photo By-Chandra Mani Bhattarai/KMC
प्रकाशन मिति–२०७६ साल बैशाख २६ गते विहीवार ।