काठमाडौं। ट्राफिक जनचेतना अभिबृद्धि गर्ने र गराउने उदेश्यनुरुप ट्राफिक सचेतनामूलक तस्बिर प्रदर्शनी प्रारम्भ भएको छ। काठमाडौं महानगरपालिका शहरी योजना आयोगको आयोजनामा काठमाडौंको रत्नपार्क स्थित शान्तिबाटिकामा प्रतिस्पर्धात्मक तस्बिर प्रदर्शनी शुभारम्भ भएको हो।

शुक्रवारवाट तीनदिनसम्म चल्ने ट्राफिक सचेतनामूलक तस्बिर प्रदर्शनीको उदघाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यवाट भएको थियो। प्रतिस्पर्धात्मक प्रदर्शनीका लागि प्राप्त २ सय ट्राफिक सचेतनामूलक तस्बिरहरु मध्येवाट अत्यन्त प्रभावशाली १ सय तस्बिरहरु प्रदर्शनीमा राखिएको जानकारी काठमाडौं महानगरपालिका शहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले भिजन संसार डटकमलाई बताएका छन्।

प्रदर्शनीमा राखिएका तस्बिरहरु मध्ये सर्वोत्कृष्ट तस्बिर अग्रज फोटोपत्रकार मीन बज्राचार्यको फोटो प्रथम भएको छ। मोटरसाइकलमा तीनजना छोराछोरी तथा आमाबुवा गरेर पाँचजना सवारको गजबको फोटो बज्राचार्यले खिचेको प्रदर्शनीमा राखिएको छ। जुन फोटोमा आमा र बुवाले हेल्मेट लगाएको देखिन्छ। र तीन छोराछोरी विना हेल्मेटका छन्। प्रतिकात्मक देखिएको यो फोटोले मोटरसाइकलमा दुईजना वाहेक धेरैको सवार हुन नहुने सन्देश दिएको छभने, बालबच्चाहरुलाई मतलव नगरिकन आमाबुवाले मात्र आफ्नो सुरक्षार्थ हेल्मेट लगाएको देखिन्छ।

मतलवी दुनियाँको यो गजबको तस्बिरले नगद २५ हजारसहितको प्रथम पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी घाइते अवस्थामा सडकमा बसिरहेका तस्बिर खिचेका प्रविण कोइरालाले २० हजारसहितको दोस्रो र मीन लामाले खिचेको आकाशे पुलमुनीबाट हिँडिरहेका नर्सको तस्बिरले १५ हजारसहितको तेस्रो पुरस्कार प्राप्त गरेको छ।

 यस तस्बिर प्रदर्शनीबाट ट्राफिक नियमपालनाले भएको जीवन सुरक्षा र लापरवाहीले ल्याउने दुर्घटनाबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि हुने अपेक्षा काठमाडौं महानगरका मेयर शाक्यले गरेका छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख २७ गते शुक्रवार ।