काठमाडौं। संयुक्त राष्ट्रसंघमा नेपालको परिचय र पहिचान कायम गर्दैआएको नेपालको मौलिक लिपी रञ्जना लिपी तालिम कार्यक्रम संपन्न भएको छ। नेपाल लिपी गुठीको आयोजनामा तीन दिने रञ्जना लिपी तालिम कार्यक्रम आइतवार संपन्न भएको हो।

३ नंबर प्रदेशका सांसद राजेश शाक्यको सांसद विकास कोषको सहयोगवाट संचालित तालिम कार्यक्रमको उदघाटन सांसद शाक्यले नै गरेका हुन्। सांसद शाक्यले नेपालको राष्ट्रियता तथा पहिचान कायम गर्न सफल नेपालको मौलिक लिपि रञ्जना लिपिको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो सांसद कोषले गुठीलाई रु ५० लाख सहयोग गरेर रञ्जना लिपि प्रवद्र्धन अभियान संचालन भएको खुलासा पनि गरेका छन्।

प्रशिक्षणमा नयाँ तथा पुराना पिंढीको उत्साहजनक सहभागिताबाट आफू अत्यन्त प्रभावित भएको भनाई पनि सांसद शाक्यको रहेको छ। सोही अभियान अन्तर्गत गुठीको भवनमा सांसद शाक्यले डिजिटल ल्याबको उद्घाटन पनि गरिएको थियो। सांसद शाक्यले विभिन्न जिल्लामा गएर युवाले युवालाई क्यालिजात्रा मार्फत रञ्जना लिपि सिकाउने कार्यक्रमले रञ्जना लिपि प्रवद्र्धन अभियानमा थप टेवा प्रदान गरेकोमा क्यालिजात्रा टीमलाई पनि धन्यवाद् ज्ञापन गरेका थिए।

गुठीका अध्यक्ष ईन्जिनियर निरञ्जन ताम्राकारले वर्तमान अवस्थामा रञ्जना र नेपाल लिपिको कक्षाको माग अत्यधिक भएकोले थप प्रशिक्षक उत्पादन गर्न यस प्रकारको तालिमको आयोजना गरेको बताएका थिए। पचास भन्दा बढीको सहभागिता रहेको उक्त तालिममा गुठीका प्राज्ञ शरद कसाः, साहित्यकार तथा वरिष्ठ नेपालभाषा अभियन्ता हितकरवीर सिं कसाः, गुठीका उपाध्यक्ष अनिल स्थापित, गुठीका कार्यकारी सदस्य निर्मल वज्राचार्य, वरिष्ठ नेपालभाषा अभियन्ता मल्ल के सुन्दर, मिस नेवाः सुनिता डंगोल र सफ्टवेयर ईन्जिनियर सुयोग्य ताम्राकार लगायतले तालिम प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७६ जेठ २८ गते मंगलवार ।