काठमाडौं। काठमाडौंको ऐतिहासिक सम्पदा मध्येको रानीपोखरी पछिको अर्को महत्वको सम्पदा कमलपोखरी हो। कमलपोखरी ऐतिहासिक महत्वको विशिष्ट पोखरी हो। यो पोखरी केही बर्षदेखि पूर्नरनिर्माणको पर्खाइमा थियो। यस कमलपोखरी पूर्नरनिर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिएको छ।

अत्यन्त राम्रो पर्यटन हबको संभावना वोकेको यो कमलपोखरीको पूर्नरनिर्माणको शिलान्यास बिहीबार कमलपोखरीमा भएको छ। ३५ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरी पूर्नरनिर्माणको शिलान्यास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी र काठमाडौं महानगरपालिका वडा नंबर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठवाट संयुक्त रुपमा शिलान्यास भएको छ।

शिलान्यास कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगन थापा, प्रदेश सांसद नरोत्तम बैद्य, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो। ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरिएको पोखरी पुननिर्माण तथा सौन्दर्यीकरणको काम धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको छ।

ठेक्केदारलाई महानगरले विसं.२०७६ असार ६ गते कार्यादेश दिएको हो। विसं.२०७७ असार १५ गतेभित्र निर्माणका सबै काम सक्नु पर्ने शर्तका आधारमा निर्माण पक्षले पार्क भित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगाको छापिएको सिंढी बनाउनेछ। पार्क अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ। पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना—साना पोखरी बनाइनेछन्। आगन्तुकलाई बस्नका लागि चौताराहरु पनि निर्माण गरिनेछन्। पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्म भित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ। वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुल्ला व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइनेछन्।

पोखरीको पुननिर्माण इञ्जिनियरिङ डिजाइन महानगरको करिअर क्याम्पमा आएका आर्किटेक्ट इञ्जिनियर प्रियङ्का प्रधान, सिभिल इञ्जिनियर नितेष श्रेष्ठ र प्रभात गौत्तमले गरेका हुन्। कमलपोखरीको पूर्नरनिर्माण संपन्न भएपछि ठमेलवाट आउने पर्यटकहरु कमलपोखरीमा आराम गरेर त्यहांवाट नक्साल, हाँडीगाउंको रुट हुंदै पशुपतिनाथ तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्ने र त्यहाँवाट सोही रुट फर्केर कमलपोखरी नै भएर ठमेल जाने पर्यटक हब बन्ने र बनाउने योजना अनुरुप कमलपोखरीको पूर्नरनिर्माण प्रारम्भ गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
प्रकाशन मिति–२०६७ साल असार १९ गते विहीवार ।