काठमाडौं। नेपाली चलचित्र उद्योगका भीष्मपितामह निर्माताका रुपमा निक्कै ख्याति कमाएका चलचित्र निर्माता छवि ओझा पटक पटक श्रीमतीहरुकै कारण विवादमा आउने गरेको पाइन्छ। यसपालि पनि श्रीमतीकै कारण नेपाली चलचित्र उद्योगका छवि–बाको छविमा धुलो पर्न गएको छ।

छवि–बाको पछिल्लो श्रीमती अर्थात नायिका शिल्पा पोखरेलले घरेलु हिंसा विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। श्रीमानवाट आफू असुरक्षित भएको भन्दै महानगर प्रहरी परिसरमा नायिका शिल्पा पोखरेलवाट बुधवारवाट जाहेरी दिएपछि प्रहरीले विहीवार दुवैलाई महानगरीय प्रहरी परिसरमा बोलाएर दुवै पक्षको सुनुवाई गरेर दुवै पक्षलाई सहमत गराइएको थियो।

अव उप्रान्त पत्नी शिल्पा पोखरेल उपर घरेलु हिंसा नगर्ने कागज गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिल्पालाई छवि–बाले माफी मागेका थिए। सहमतिमा दुवै महानगरीय प्रहरी परिसरवाट निस्केपनि दुवै फरक वाटो लागेका थिए। नायिका शिल्पा पोखरेल आमा सहित धर्म दाजु विकास रौनियार तथा धर्म भाउजु सम्झना रौनियारका साथ दाजुभाउजुको घर फर्केका थिए। छवि–बा भने आफ्नै घरमा फर्केका थिए।

सञ्चारकर्मीहरुसंगको कुराकानीमा छवि–बाले आफूहरु अहिले पनि मज्जाले मिलेर बस्न सकिने र आफू शिल्पालाई स्वागत गर्न नै हतारिरहेको प्रतिक्रिया दिएका छन्। शिल्पा भने छविसंग अव बस्न नसक्ने बताइरहेकी थिइन्। अव दुवैवीच डिभोर्स हुन्छ कि भन्ने आशंकाहरु पनि उत्पन्न भएको छ। यस संवन्धमा दुवै मौन देखिएका छन्।

छवि–बाले श्रीमती नायिका शिल्पा पोखरेलको घाँटी थिचेपछि घरवाट भागेर जीउधनको सुरक्षाको माग गर्दै प्रहरीमा पुगेकी हुन्। छवि–बाले आफूवाट गल्ती भएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्। निर्माता ओझा नायिका रेखा थापाका पूर्व पतिसमेत हुन्।

रेखासँग डिभोर्सपछि छवि ओझा शिल्पासँग लिभिङ टुगेदरमा थिए। शिल्पा र छविले २०७३ असार २९ गते सुटुक्क विवाह गरेका हुन्। विवाह गरे पनि उनीहरु आफ्नो सम्बन्धको बारेमा सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरुको विवाहबारेको वास्ताविकता बाहिरिएको हो। तेश्रो पत्नी ख्यातिप्राप्त नायिका रेखा थापासंग डिभोर्स भएपछि छवि–बा नायिका शिल्पा पोखरेलसंग नजिकिएका थिए।

शिल्पा पोखरेललाई नायिका बनाउनका लागि लज्जा, सुन्तली हवल्दार र मंगलम् नामक तीन चलचित्र एक पछि अर्को गरेर निर्माण गर्ने कार्य छवि–बावाट भएको थियो। यसैको प्रभाववाट छवि–बासंग नजिकिएकी शिल्पा पोखरेल यतिखेर नराम्ररी पछुताएकी छन्। छवि–बाको शिल्पा पोखरेल चौथो पत्नी हुन्।

यसअघि छवि–बाको रेखा थापा, गीताञ्जली सुनुवार लगायतसंग विवाह भएको थियो। पहिलो पत्नीसंग डिभोर्स भएपछि नायिका गीताञ्जली सुनुवारलाई भित्राएका छवि–बाको गीताञ्जली सुनुवारसंगको संवन्ध पनि राम्रो भएन। नायिका गीताञ्जली सुनुवारले आत्महत्या गरेपछि एक्लिएका छवि–बालाई नायिका रेखा थापालाई दश बर्ष साथ दिएकी थिइन्।

रेखा थापासंगको संवन्धमा पनि खटपट भएपछि अदालतवाटै डिभोर्स गरेपछि शिल्पा पोखरेललाई श्रीमती बनाएका छवि–बाकै कारण विवाहको तेश्रो बर्षमा नै संवन्धमा दरार पैदा भयो र दुवै प्रहरी समक्ष पुग्नु पर्यो।
प्रकाशन मिति–२०७६ साल असार २६ गते विहीवार ।