काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका वडा नंबर १४ को एकमात्र महिला वडा अध्यक्ष शोभा सापकोटाको वडा क्षेत्र अविरल बर्षाको कारण जलमग्न भएको छ। गत विहीवार देखि परेको अविरल बर्षाको कारण बल्खु खोला उर्लिएपछि १४ नंबर वडा जलमग्न भएको हो।

१४ नंबर वडाभित्र पर्ने कुलेश्वरको कुलेश्वर हाउजिङ अपार्टमेन्ट देखि कलंकी मालपोत अफिससम्म जलमग्न बन्दा त्यहाँका स्थानीयलाई अत्यन्त समस्या परेको छ। कति घर त एक तल्लासम्म पनि डुवानमा परेको वडा अध्यक्ष शोभा सापकोटाको भनाई रहेको छ। वडा अध्यक्ष सापकोटाका अनुसार जलमग्न बन्दा त्यहाँका १ हजार ४ सय घर प्रभावित बनेको छ।

वडामा आएको विपदको बेलामा जलमग्न भएको प्रत्येक स्थानको स्थलगत अनुगमन गरेर जलमग्न पानीको निकास खोल्ने भरमग्दूर प्रयास आफूले गरेको र त्यस कार्यमा स्थानीयको पनि अत्यन्त सहयोग रहेको जानकारी वडा अध्यक्ष सापकोटाले भिजन संसार डटकमलाई दिएकी छन्। आज आइतवार पनि जलमग्न भएका स्थानमा गएर डोजर भाडामा लिएर भएपनि आफूले निकास खोलेको वडा अध्यक्ष सापकोटाले भनेकी छन्।

प्रतिघण्टा १ हजार ५ सयको दरले डोजर भाडामा लिएर आफूलेको पानीको निकास खोलेर जनजीवनलाई सहज पार्ने कार्य गरेको वडा अध्यक्ष सापकोटाको भनाई रहेको छ। आइतवार निकास खोल्न डोजर चलाएवापत आफूले व्यक्तिगत रुपमा ९ हजार ५ सय खर्च गरेर भएपनि वडाको समस्यालाई हल गर्न दिलोज्यान लगाएर प्रयास गरेको वडा अध्यक्ष सापकोटाले बताएकी छन्।

विशेषत बल्खुखोलाको अन्तिम निकास कीर्तिपुर नगरपालिका क्षेत्रमा खोला मिचेर बनाएका पर्खाल तथा संरचनाको कारण बल्खुखोला उर्लेर यो बर्ष उत्पात मच्चाएको वडा अध्यक्ष सापकोटाको ठहर रहेको छ। त्यसतर्फ, कीर्तिपुर नगरपालिकाले त्यसरी खोला मिचेर बनाएका अनाधिकृत संरचनाहरु भत्काउने कार्य नगरेसम्म कलंकी क्षेत्र डुवानमा पर्ने जिकिर पनि वडा अध्यक्ष सापकोटाको रहेको छ।

वडामा आएको विपदको बेला घरधनी तथा घरवहालमा बस्ने सवैलाई सचेत हुन र संयमित बन्न पनि वडा अध्यक्ष सापकोटाले अनुरोध गरेकी छन्। डुवानमा परेका घरहरुलाई वडा तथा महानगरको तर्फवाट सक्दो सहयोग गर्ने कार्य भैरहेको पनि वडा अध्यक्ष सापकोटाले भनेकी छन्।


प्रकाशन मिति–२०७६ साल असार २९ गते आइतवार ।