काठमाडौं। लमजुङमा बुधबार दिउँसो दोर्दी खोलामा एक्कासी आएको बाढीले बगाएपछि फेला परेका चारवटै शवको सनाखत भएको छ। पूर्वी भेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको माथिल्लो भागबाट आएको बाढीमा परेर मृत्यु भएका चार जनाको बिहीबार सनाखत भएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताएका छन्।

लमजुङ जिल्ला प्रशासन कार्यालयका अनुसार, पर्सा जिल्लाका ३० वर्षीय शिवधन चौधरी, सप्तरीको सप्तरी नगरपालिका ८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरी, डडेल्धुराको आलेताल गाउँपालिका ६ का अन्दाजी ३५ वर्षीय रमेश बुढा र बारा जीतपुर उपमहानगरपालिकाका ३५ वर्षीय सईद अन्सारीको सनाखत भएको हो।

दोर्दी गाउँपालिका ४ शेराबजार नजिकै दुई जनाको, अर्को एक जनाको सो स्थानबाट केही माथि र एक जनाको शव वडा नम्बर ६ कीर्तिपुरमा भेटिएको थियो। सबै शवको सदरमुकाम बेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम् भइसकेको प्रहरीले जनाएको छ।

बाढीले बगाएका कुल ११ जना मध्ये ४ जनाको मृत्यु भएको, एकजना बिहीबार बिहान सम्पर्कमा आएको र बाँकी ६ जना अझै हराइरहेका अपरदोर्दी जलविद्युत आयोजनाका सञ्चालक राजेन्द्र वस्तीको भनाई रहेको छ। दोर्दी गाउँपालिका ६ का बिनोद तामाङ, कञ्चनपुरका ४३ वर्षीय देवबहादुर कोली, डडेल्धुराका ४५ वर्षीय कर्ण बुढा, सप्तरीका ४० वर्षीय सुरेन्द्र चौधरी, बाराका ३४ वर्षीय ज्ञानेन्द्र चौधरी र भोजपुरका २२ वर्षीय दिवस कटुवाल हराई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु भएका, घाइते र बेपत्ता भएका सबै निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदारहरु रहेको प्रहरीले भनेको छ। बाढीमा परेर ८ जना घाइते भएका छन्। घाइते हुनेमा सप्तरीका ३१ वर्षीय सन्तोष सरदार, बारा जीतपुर सिमरा नगरपालिकाका ४२ वर्षीय हरि बिक, डढेल्धुराका २५ वर्षीय सुरज बुढा, डढेल्धुराकै ४६ वर्षीय धनसिंह सेडी, कलैयाका ३० वर्षीय अर्जुन शर्मा, सप्तरीका २४ वर्षीय सुरज सादहा, धनगढीका २५ वर्षीय रमेश विक र लमजुङ बेसीसहर नगरपालिका ६ का अर्जुन आले रहेको प्रहरीले जनाएको छ। उनीहरुको टाउको, हातगोडा र शरिरका विभिन्न ठाउँमा चोट लागेको छ।

बेसीसहरस्थित सामुदायिक अस्पतालमा उनीहरुको उपचार गराइएको छ। घाइतेमध्ये २ जनालाई अस्पतालले डिस्चार्ज गरेको, ३ जना राम्रो अस्पतालमा उपचार गराउने भन्दै जिल्ला बाहिर गएको र २ जनाको सामुदायिक अस्पतालमै उपचार भइरहेको छ। बाढीमा हराएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी भइरहेको छ।

दोर्दीखोला आसपासका स्थानीय र आयोजनाहरुमा काम गर्ने सबैलाई सतर्क रहन लमजुङ जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
प्रकाशन मिति–२०७६ साल साउन ९ गते विहीवार ।