काठमाडौं। विगत डेढ दशकदेखि नेपाली तथा नेपालभाषाका चलचित्र, टेलिचलचित्र तथा म्युजिक भिडियोहरुमा सक्रिय रहदैआएका अभिनेता स्वतन्त्र संसार महर्जनको जीवन यतिखेर दोसाँधमा रहेको छ। पाँच बर्षअघि सफल उपचार गरिएको भनिएको स्पाइन ट्युमर फेरि बल्झेर स्वतन्त्र यतिखेर हैरानमा रहेका छन्।

पहिलाजस्तो निस्फिक्री हिंड्न नसक्ने अवस्थामा पुगेका अभिनेता स्वतन्त्रलाई डाक्टरले फेरि शल्यक्रिया गर्नुपर्दछ भनेर सल्लाह दिएको छ। सवैको लागि बाँच्न अभिप्रेरणा दिदैआएका अत्यन्त आत्मविश्वासी स्वतन्त्र आफै थला परेका छन्।

यद्यपि, सवैको ढांड्स, उत्साह अनि उत्प्रेरणाको कारण अझ बाँचेर नेपाली कलाकारितालाई उच्च बनाउने सोचमा रहेका स्वतन्त्रको यही भदौ महिनाभित्र शल्यक्रिया हुने भएको छ। त्यसको लागि आवश्यक सहयोग देश तथा विदेशमा रहेका शुभचिन्तकहरुवाट आएको र आउंदै गरेको जानकारी स्वतन्त्रले भनेका छन्।

नेपाल वाहिर हङकङमा रहेका विश्वप्रसिद्ध नेपाली उस्ताद कृष्णभक्त महर्जनवाट नगद ३० हजार उपचारको लागि स्वतन्त्रको हात परिसकेको छ। त्यसैगरेर, फुटसलमा सहभागी कलाकारहरुको तर्फवाट नगद ५० हजार, समाजसेवी विश्वरत्न तुलाधरवाट नगद ५० हजार, एम्स इन्टरटेन्टमेन्टवाट नगद ५० हजार, प्रेमकुमारी घलेवाट नगद ५ हजार र नाम नखोलेका दुईजनावाट नगद ३० हजार सहित नगद २ लाख १५ हजार सहयोग जम्मा भैसकेको छ।

इभेन्ट म्यानेजमेन्टमा पनि सर्वोत्कृष्टता हासिल गर्दैआएका अभिनेता स्वतन्त्रको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका अन्य शुभचिन्तकहरुले पनि उपचार सहयोग गर्ने प्रतिबद्धता आइरहेको बताइएको छ। आफ्नो लागि भन्दा साथीभाइ सवैको हक, हितका लागि कटिबद्ध बन्दैआएका होनहार प्रतिभाशाली कलाकार स्वतन्त्र संसार महर्जनको उपचारको लागि सहयोग गर्न कलाकारहरुले आव्हान गरेका छन्।

स्वतन्त्र संसार महर्जनलाई निम्न फोन नंबरमा सिधा संपर्क गरेर सहयोग गर्न सक्नु हुन्छ–9851083957 / 01-5591724
प्रकाशन मिति–२०७६ साल साउन २६ गते आइतवार ।