काठमाडौं। नेपाली लोकदोहरी गायन क्षेत्रमा क्षणमा लभ पर्ने तथा क्षणमा विवाह हुने अनि कुरा नमिलेमा टार्जेडी पनि हुने गर्दछ। लोकदोहरीको मर्म तथा भावना पनि यही हो। गम्केर गाइन्छ। कम्मर कसेर सवैलाई जुरुक्कै उचाल्ने गरेर पछार्ने कार्य पनि गरिन्छ। लोकदोहरी भनेकै मनको अन्तरकुन्तर कुनामा गुम्सिएको भावनालाई लाजै नमानिकन पोख्ने गजबको माध्यम पनि हो।

यसले गर्दा लोकदोहरी गाउने गायक तथा गायिकाहरुको लोकदोहरीकै भाकामा कयन पल्ट लभ पर्ने तथा विवाह हुने अनि टार्जेडी हुने गरेको पाइन्छ। सुन्ने र हेर्नेहरुलाई लोकदोहरी गाउने यी गजबका गायक–गायिका वीच लभ परेकै हो या विवाह भएकै हो कि भन्ने भान हुने पनि गर्दछ। कति मार्मिकतामा यिनीहरुको किन यछि छिट्टै विछोड भयो भनेर आँखाभरि आँशु पार्नेहरुको पनि कमी छैन्। यो आँशु तथा हाँसो अनि रोमान्टिकताको भीडम विलकुलै नवीनतम आवाज तथा स्वरकी धनी लोकदोहरी गायिका रितु तामाङको पनि लोकदोहरी गायनमा कयन पल्ट लभ परिसकेको छ। कयनपल्ट विवाह पनि भैसकेको छ। र विछोड पनि भैसकेको छ।

वास्तविक जीवनमा भने गायिका रितु तामाङको विवाह भएको छैन्। कसैसंग लभ पनि परेको छैन्। २४ बर्षको मस्त जवानीमा रहेकी गायिका रितु तामाङले व्यावसायिक रुपमा लोकदोहरी गाउन थालेको आधा दशक भैसकेको छ। विसं.२०७० सालदेखि व्यावसायिक रुपमा लोकदोहरी गाउन थालेकी रितुले गीत गुनगुनाउन थालेको भने सानै देखि हो। धादिङ जिल्लाको निलकण्ठ नगरपालिका स्थित धुँवाकोटमा जन्मी–हुर्केकी रितु त्यहीको वातावरण तथा सामाजिक परिवेशले नै गायिका बनेकी हुन्।

पिता जितवहादुर तामाङ तथा माता ख्यालमाया तामाङको माइली सन्तानको रुपमा जन्मेकी रितुको वास्तविक नाम रिता तामाङ हो। सवैले माया गरेर उनलाई रितु भनेर बोलाउंदा बोलाउंदै रितु तामाङ भनेर सवैमाझ उनी लोकप्रिय बनेकी हुन्। लोकदोहरी मात्र अढाई दर्जनभन्दा बढी गीत गाइसकेकी रितु तामाङका हिट गीतका भाकामा ज्यानमाया, मन त त्यस्तै हो, पँधेरीको पानी लगायत रहेका छन्।

लोकदोहरीको अलावा एक दर्जनभन्दा आधुनिक गीत पनि गाइसकेकी रितु तामाङ आधुनिक गीतवाट भन्दा लोकदोहरीवाटै चम्केकी छन्। त्यसको अलावा बनदेउता नामक फिल्ममा पनि नायिका बनेर अभिनय गरिसकेकी रितुलाई धेरै फिल्महरुवाट पनि अफर आउने गरेको छ। तर, लोकदोहरी गायनमा नै मज्जा मानिरहेको कारण फिल्महरुमा ध्यान दिन सकेकी छैनन्।

निकट भविष्यमा समय मिलेमा तकडा नायिका बन्ने उनको योजना पनि रहेको छ। ५ दर्जनभन्दा गीतका भिडियोहरुमा नायिका बनेर अभिनय गरिसकेकी रितु तामाङले नेपाल वाहिर दुबई, कतार, मलेसिया लगायतका देशहरुमा सांगीतिक प्रस्तुतिहरु दिइसकेकी छन्।
(नामी साप्ताहिकवाट साभार) Photo By-Chyangba Lama

प्रस्तुत छ–भिडियो रिपोर्ट

प्रकाशन मिति–२०७६ साल असोज १८ गते शनिवार ।