काठमाडौं। काठमाडौंको टुंडिखेल खुल्ला गर्नु र गराउनु पर्दछ भनेर अभियानको रुपमा अगाडि आएको टुंडिखेल अकुपाईको संवन्धमा नकारात्मक कोही पनि छैनन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि टुंडिखेल खुल्ला राखिनु पर्ने पक्षमा रहेका छन्।

टुंडिखेल अकुपाईका अभियन्ता मध्येका पूर्वरक्षा मन्त्री भीमेसनदास प्रधानको दोहोरो चरित्रवाट मेयर शाक्य तीन छक्क–अठार दंग परेका छन्। भीमसेनदास प्रधान रक्षा मन्त्री हुंदा त्यही टुंडिखेलमा नेपाली सेनाको हेडक्वाटर बनाउन दिने र नेपाली सेनाले टुंडिखेललाई कब्जा गर्दा चुंक्कै नबोल्ने उनै पूर्वरक्षा मन्त्री प्रधानको नेतृत्वमा टुंडिखेल अकुपाईको अभियान भैरहेको तथ्यलाई मेयर शाक्यले खुलासा गरेका छन्।

नेवाः पत्रकार राष्ट्रिय दबूका नव–निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै मेयर शाक्यले खुल्ला टुंडिखेलका नाममा राजनीतिकरण भैरहेको बताए। सत्तामा रहंदा टुंडिखेल र काठमाडौंका लागि सिन्को नभाँच्ने पूर्वरक्षा मन्त्री प्रधानले टुंडिखेल अकुपाईको नाममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई समेत लिएर राजनीति गरेको जिकिर गरेका छन्। जसवाट काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरको अनावश्यक रुपमा झगडा गराउने कार्य भैरहेको तर्क पनि मेयर शाक्यको रहेको छ।

टुंडिखेलको खुल्ला मञ्चनेर निर्माणाधिन बीर अस्पताल र दरबार हाईस्कुलको निर्माण सामाग्री थुप्रिएको यथार्थता रहेको छ। बीर अस्पताल र दरवार हाईस्कुलको निर्माण संपन्न भएपछि केही दिनमा नै ती निर्माण सामाग्री त्यहाँवाट हट्ने जानकारी पनि मेयर शाक्यले दिएका छन्।

त्यसैगरेर, टुंडिखेलको खुल्ला मञ्चनेर अस्थायी बसपार्क आफ्नोपालामा पुरानो बसपार्कवाट सारिएको नभइकन नेपाली कांग्रेसकै सरकारको पालामा सारिएको भनाई मेयर शाक्यको छ। पुरानो बसपार्कमा भ्यू–टावर निर्माण गर्ने नाममा तत्कालिन उपप्रधानमन्त्री तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहवाट उक्त भ्यू–टावर उदघाटन भएर बसपार्क टुंडिखेल खुल्ला मञ्चनेर सारिएको यथार्थता हुंदा–हुंदै अस्थायी बसपार्कका बारेमा काठमाडौं महानगरपालिकाका मेयरलाई अनावश्यक लाञ्छना लाउने कार्य भएको तिक्तता पनि मेयर शाक्यले पोखे।

सोही अस्थायी बसपार्कवाट आउने धुँलो तथा हिलोवाट प्रदूषित पारिरहेको सडकलाई सफा बनाउन अस्थायी रुपमा पिच गराउंदै गर्दा त्यसैमाथि गाडी गुडाउन लगाउने विकास विरोधी या मेयर विकास विरोधी हो भनेर टुंडिखेल अकुपाई अभियन्ताहरुलाई प्रश्न गरेका छन्। अर्कोतर्फ, काठमाडौं महानगरपालिकाले हात हालेका कुराहरुमा मात्र विरोध हुने र अन्यत्र नगर्ने प्रवृतिले मेयरलाई सिध्याउने उनीहरुको मिसन नै भएको हुनुपर्ने दावी मेयर शाक्यले भनेका छन्।

त्यस्तो मिसन भएतापनि आफूले बोलेर होइन, चुपचाप काम गरेर देखाउने दावी गरेका छन्। मेयर शाक्यले नव–निर्वाचित नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीहरुलाई पनि ठूलै सोच राखेर काम गर्नुपर्ने सुझाव दिएका छन्। सानो सोच होइन, ठूलो सोच राखेर काम गरेमा असंभव भन्ने कुनै कुरा नै नभएको स्पष्ट पारे।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, सचिव केके मानन्धर, अग्रज पत्रकार तथा मेयर सचिवालयका जन–संपर्क सल्लाहकार राजेन्द्र स्थापित लगायतले पत्रकार र पत्रकारिताका समस्या तथा आवश्यकताका बारेमा प्रकाश पारेका थिए।


प्रकाशन मिति–२०७६ साल मंसीर ९ गते सोमवार ।