काठमाडौं। घाइते, रचना, चण्डालिका, तुयुमति जस्ता चलचित्रवाट इतिहास रचिसकेका अभिनेता मनिषकुमार श्रेष्ठ नेपाल वाहिर बेलायतमा बसोबास गर्दैआएको पनि लगभग दुई दशक पुग्न लागिसकेको छ।

मनिषलाई देश छाडेर परदेश बेलायतमा बसेतापनि उही नेपालको मायाले घरी–घरी सताउने गर्ने गरेको छ। नेपालमा रहंदा खाइनखाइकन डबली नाटक देखि रंगमञ्चीय नाटक, टेलिफिल्म हुंदै चलचित्रका रंगीन पर्दाहरुमा रमेका ती क्षण र पलले बारम्बार सताउने गरेको मनिषको भनाई छ। यसले गर्दा मनिष मौका तथा अवसर मिलेसम्म बेला–बेलामा नेपाल आउने गर्दछन्।

यो बर्ष पनि तिहारको छेको पारेर नेपाल आए र लगभग डेढ महिना जति नेपाल बसेर केही दिनअघि मात्र बेलायत फर्केका छन्। नेपाल बसाईको छोटो अवधिमा पनि तीन चलचित्रको काम सकाएर मनिष बेलायत फर्केका हुन्। नेपालका कमेडी किङ अभिनयका बादशाह मदनकृष्ण श्रेष्ठ हिरो भएको नेपाली कथानक चलचित्र सनाखतमा विशेष भूमिकामा गजको अभिनय गर्ने कार्य मनिषवाट भएको छ।

यस चलचित्रको डविङ कार्य समेत सकाएर बेलायत फर्केको मनिषले भनेका छन्। त्यस्तैगरेर, बेलायतमा संपूर्ण छायाँकन संपन्न भएको सनम कुमार बैराग निर्देशित नेपाली कथानक चलचित्र कैदीको–पत्रको समेत नेपालमा डविङ कार्य संपन्न गरेको मनिषले बताएका छन्।

अर्का ख्यातिप्राप्त हास्य–अभिनेता सन्तोष पन्तव्दारा निर्मित अर्को नेपाली कथानक चलचित्र हिजो आजका कुरामा पनि अभिनय गरेर बेलायत फर्केको भनेका छन्। छोटो अवधिमा नेपाली चलचित्रको कला र कलाकारितामा थोर–बहुत भएतापनि निरन्तरता दिन पाएकोमा अत्यन्त गर्ब लागेको बेलायत पुगेर भिजन संसार डटकमलाई प्रतिक्रिया दिएका छन्। 

बेलायतमा हुने हर नेपाली कला र कलाकारितामा मनिषको विशेष भूमिका र योगदान रहदैआएको छ। त्यसको अलावा विश्वभरका नेपाली चलचित्रका कलाकारहरुको साझा संगठन इनासको महासचिवको रुपमा पनि मनिष कार्यरत रहेका छन्।


प्रकाशन मिति–२०७६ साल मंसिर २९ गते आइतवार ।