काठमाडौं। नृत्यकी बिजनेश वुमनको रुपमा व्यापक चर्चा पाएकी ख्यातिप्राप्त हांस्य अभिनेत्री पल्पसा डंगोल चम्सुरीको जेठी छोरी पनि नायिका बनेकी छन्। चम्सुरीकी जेठी छोरी लुनिभाः डंगोल चम्सुरीकै निर्माण तथा निर्देशन रहेको नेपालभाषाको चलचित्र ब्याहा यानागु लछि मदुनिवाट नायिकामा डेब्यु गरेकी हुन्।

यस चलचित्रमा लुनिभाःको अपोजिट अर्थात हिरोको रोलमा मिलन श्रेष्ठले अभिनय गरेका छन्। नेपालभाषामा निर्माण भएको चलचित्रवाट दुवै नव नायक तथा नायिकाले डेब्यु गरेतापनि दुवैले नेपालभाषा त्यति बोल्ने नगरेको र त्यति धेरै नबुझेको दुवैले बताउंदा भने उक्त चलचित्रको एक गीतको भिडियो रिलिज समारोहमा मंगलवार उपस्थित प्राय तीन छक्क तथा अठार दंगै परे।

नयाँ पुस्ताले मातृभाषा विर्सदै गएको कारण नयाँ पुस्ताले मातृभाषा सिक्न आवश्यक भएको तथ्यलाई उजागर गर्न तथा नयाँ पुस्तालाई आकर्षण गर्न र गरान नै आफूले नेपालभाषाको चलचित्र ब्याहा यानागु लछि मदुनि निर्माण गरेको निर्माता तथा निर्देशक चम्सुरीले बताएकी छन्। नेपालभाषाका ख्यातिप्राप्त संचारकर्मी दर्शनवीर शाक्यको लेखन रहेको चलचित्र ब्याहा यानागु लछि मदुनि माघ महिनाभित्र रिलिज हुने भएको छ।

नेपालको नंबर एक नृत्यको विद्यालय कामना कला केन्द्रका संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठको नृत्य निर्देशन रहेको चलचित्र ब्याहा यानागु लछि मदुनिमा लुनिभाः र मिलनको अलावा रवि डंगोल ‘बेमान’, मञ्जु श्रेष्ठ ‘बिजुली’, सुनिता ठाकुर, निर्मल शर्मा, अजु डंगोल लगायतको प्रमुख भूमिका रहेको छ।

क्यामेरा र दृश्य सम्पादनको काम मनोजरत्न शाहीले गरेका छन्। मंगलवार सार्वजनिक गरिएको गीतमा जुजु बज्राचार्य र रानीशोभा महर्जनको गायन रहेको छ। संगीत इन्द्र व्यन्जनकारको रहेको छ। गीतको रचना जुजु बज्राचार्यले गरेका छन्। संगीत संयोजन जीवित जल्मीले दिएका छन्। गीतमा काभ्रे जिल्लाको नमोबुद्धको मनोरम दृश्यहरु कैद गरिएको छ।

चलचित्र लूनिभाः आर्टसको व्यानरमा निर्माण भएको हो। लूनिभाः आर्टस्को यो दोश्रो चलचित्र हो । यसभन्दा अघि १२ बर्षअघि लूनिभाः आर्टस्बाट हांस्य–प्रधान चलचित्र सत्य धरोधर्म निर्माण भइसकेको छ।

प्रकाशन मिति–२०७६ साल पुस १५ गते मंगलवार ।