काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा ख्यातिप्राप्त समाज–सेवी दिलशोभा श्रेष्ठले नयाँ बर्ष सन् २०२० को अवसरमा नयाँ कार्यको घोषणा गरेकी छन्। आमाघरकी आमाको रुपमा पनि व्यापक ख्याति कमाएकी आमा दिलशोभा श्रेष्ठले दृष्टिविहिनहरुले रोडमा गीत गाएर बाँच्नुपर्ने विवशताको अन्त गर्ने उपायको खोजी सहित उनीहरुको लागि ४० वटा घर–टहरा निर्माण गरिदिने घोषणा गरेकी हुन्।

काठमाडौंको सुन्दरीजल स्थित नयाँपाटीमा चार रोपनी जग्गा लिजमा लिएर दृष्टिविहिनहरुका लागि घर–टहरा निर्माण गर्ने कार्य शुभारम्भ गरिसकेको जानकारी दिलशोभा आमाले भिजन संसार डटकमसंगको भिडियो वार्तामा बताएकी छन्।

दृष्टिविहिन ४० परिवारका लागि घर–टहरा निर्माण गरेर त्यहाँ उनीहरुको उचित बसोबास गर्ने र गराउने पवित्र उदेश्यले आफूले कार्य थालनी गरेको पनि दिलशोभा आमाले भनेकी छन्। सुन्दरीजलको नयाँपाटीमा दृष्टिविहिन टेकवहादुर मग्रान्तीको संयोजकत्वमा घर–टहरा निर्माण भैरहेको छ।

हालसम्म चारवटा घर–टहरा निर्माण भैसकेको जानकारी संयोजक मग्रान्तीले दिएका छन्। सहयोग मागेर सहयोग गर्ने कार्य दिलशोभा आमाले गरिरहेको पनि भनेकी छन्। रोडमा फालिएका असहाय, अनाथ बृद्धाहरुको लागि काठमाडौंको कालिमाटी र गुर्जुधारामा आमाघर संचालन गरेर ठूलो सामाजिक कार्य गर्दैआएकी दिलशोभा आमाको दृष्टिविहिनप्रति गर्न लागेको अर्को ठूलो महान कार्य हो। जहाँवाट दृष्टिविहिनहरुले नयाँ जिन्दगी पाउने भएको छ।

 

प्रकाशन मिति–२०७६ साल पुस १६ गते बुधवार ।