काठमाडौं। नेपाल सरकारका उच्च अधिकारीले चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने बताएका छन्। बीबीसी नेपाली सेवाका अनुसार, बुधवारसम्म उनीहरुलाई राख्ने व्यवस्था मिलाइ सक्ने र त्यस लगतै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका नेपालीहरूलाई नेपाल ल्याइने ती अधिकारीले बताए।

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेमा रहेका नेपालीहरुलाई तत्काल फर्काउन सरकारलाई निर्देशन दिए लगत्तै आफ्नो तयारीबारे नेपाल सरकारको पछिल्लो भनाइ आएको हो। चीन स्थित नेपाली दूतावासका अधिकारीले आफूहरू अझै नेपाल सरकारको निर्णयको पर्खाइमा रहेको बताएका छन्।

चार दिनअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तको वुहान नगर र वरपर रहेका नेपालीहरूलाई फर्काउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
प्रकाशन मिति–२०७६ साल माघ २६ गते आइतवार ।