काठमाडौं। चीनको वुहानबाट १ सय ७५ जना नेपाली नागरिकलाई नेपाल ल्याइएको छ। आज आइतवार विहान उनीहरुलाई नेपाल ल्याइएको हो। नेपाल ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ।

आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदैं खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो। साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए ।

चार वटा बसमा १ सय ७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको थियो ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा। नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ। सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ।

आज नै फर्काइएका ती १ सय ७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ। नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो ।

सो स्थानबाट १ सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १ सय ७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।
नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा

आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएर नेपाल नआएको जनाइएको छ। वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १ सय ७५ लाई नेपाल ल्याइएको हो ।

चीनबाट विमान चढ्नु अघि र काठमाडौँको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेकोे क्वारेन्टाइनमा पुर्‍याइएको हो ।
प्रकाशन मिति–२०७६ साल फागुन ४ गते आइतवार ।