काठमाडौं। विगत नौ महिनादेखि ब्रेन ह्याम्ब्रेज रोगको कारण अचेत अवस्थामा उपचार गरिदैं गरेकी गुल्मीकी अनिता खड्कालाई अभिनेत्री जोस्ना फुयाँलले सक्दो सहयोग गरेकी छन्। बुधवार श्रीमान रुपक फुयाँलसंग अनिता खड्काको उपचार भैरहेको काठमाडौं बसुन्धरा धापासी स्थित काठमाडौं नेचुरोपेथी अस्पतालमा पुगेर अभिनेत्री फुयाँलले सहयोग गरेकी हुन।

ब्रेन ह्याम्ब्रेजको कारण अत्यन्त जीर्ण अवस्थामा पुगेकी अनिता खड्काको उपचारमा केही भएपनि सहयोग मिलोस् भनेर अभिनेत्री फुयाँलले त्यहाँ पुगेर नगद २० हजार सहयोग गरेको बताएकी छन्। अनिता खड्काकी श्रीमान विनोद खड्कालाई उक्त रकम हस्तान्तरण गरेर फर्केकी अभिनेत्री फुयाँलले सवैले सक्दो सहयोग गर्न आव्हान समेत गरेकी छन्।

नौ महिना अगाडि विसं.२०७६ साल जेष्ठ १९ गते एकाएक टाउको फुट्ने गरेर टाउको दुख्न थाल्यो भनेपछि उपचार्थ भैरहवा पुर्याउंदा ब्रेन ह्याम्ब्रेज पुष्टि भएको श्रीमान विनोद खड्काले भिजन संसार डटकमलाई बताएका छन्। त्यसपछि उपचारको क्रममा काठमाडौं आइपुगेको बताउंदै बसुन्धरा धापासी स्थित काठमाडौ नेचुरोपेथी अस्पतालमा गत कात्तिक महिनादेखि उपचार भैरहेको विनोद खड्काले भनेका छन्।

उपचारको लागि मात्र मासिक १ लाखभन्दा बढी खर्च लाग्ने गरेको बताउंदै नौ महिनादेखि उपचारमा लाग्दालाग्दै बेखर्ची जस्तो भैसकेको अवस्थामा यसरी सहयोगी मनहरुको सहयोगले नै अचेत पत्नी अनिता खड्काको उपचार गर्नमा आफू व्यस्त रहेको विनोद खड्काको भनाई छ।

शुक्रवार महाराजगञ्ज टिचिङ स्थित मनमोहन कार्डियोलोजी अस्पतालमा शल्यक्रियाको लागि भर्ना हुन लागेको जानकारी पनि विनोद खड्काले दिएका छन्। चार बर्षअघि अनितासंग विनोदको विवाह भएको थियो। हाल दुवैको प्रेमको निशानीको रुपमा तीन बर्षकी छोरी छन्। आमाको त्यो गंभीर अचेत अवस्था देखेर ठूलो भएपछि डाक्टर बनेर आमाको उपचार गर्ने त्यो बालसुलभ प्रतिक्रिया दिने गरेकी छन्।

अनिता खड्काको लागि सहयोग गर्न चाहनु हुने सहयोगी मनहरुले सिंधै विनोद खड्कालाई संपर्क गरेर अस्पतालमा नै पुगेर सहयोग गर्न सक्नु हुन्छ। संपर्क फोन नंबर–9860026812

प्रकाशन मिति–२०७६ साल फागुन ७ गते बुधवार ।