काठमाडौं। प्राय सुगमका दूर्गम क्षेत्रमा गएर कुनै कार्य गर्न रुचाउंदैन। सुगममा नै बसेर सरकारी सेवा गर्नेहरुको दौडधुप हुनेगरेको परिप्रेक्ष्यमा काठमाडौं ह्यूमत टोलका रैथाने रविन्द्र रञ्जितकार भने कर्णाली प्रदेशको अति विकट जिल्ला डोल्पा पुगेर २२ बर्ष शिक्षक बनेर फर्केका छन्।

रविन्द्र रञ्जितकारले विकट जिल्ला डोल्पामा २२ बर्ष निरन्तर शिक्षक बनेर सात बर्षअघि मात्र काठमाडौं फर्केका हुन। काठमाडौं फर्केर काठमाडौंको गणवहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा अध्यापन गर्दैआएका रविन्द्र रञ्जितकार दुईबर्षयतावाट सोही विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी वोक्दैआएका छन्।

२९ बर्षअघि काठमाडौंको हावापानी फेर्ने अनौठो हिसावले अति विकट जिल्ला डोल्पा पुगेका रविन्द्र रञ्जितकारलाई डोल्पाले नै शिक्षक बनाएको हो। काठमाडौंको घण्टाघरस्थित त्रि–चन्द्र क्याम्पसवाट बीएस्सीको अध्ययन पूरा गरेर अनौठो तरीकाले हावापानी फेर्न भनेर रविन्द्र रञ्जितकार डोल्पा पुगेका थिए।

डोल्पा पुग्दा त्यहाँको कठिन जन–जीवनवाट रविन्द्र रञ्जितकार कति पनि आजित बनेनन्। त्यो जन–जीवनलाई सहज रुपमा लिएर त्यहीको विद्यालयमा अस्थायी शिक्षक बनेर पढाउन थालेका रविन्द्र रञ्जितकार विसं.२०४८ सालवाट मात्र स्थायी शिक्षक बनेका हुन। डोल्पा बस्ने क्रममा त्यही उनको डोल्पेलीसंग माया–प्रेम बस्यो र दुई छोराको पनि जन्म भयो।

डोल्पाको कठिन जीवनमा पनि आफूलाई अत्यन्त सुखी र खुशी महशुश गर्ने रविन्द्र रञ्जितकारको डोल्पेली जीवन–संगीनीसंग विविध कारणले संवन्ध विच्छेद भयो। जुन दुःखद घटनाको रुपमा उनले लिने गरेका छन्। जीवन–संगीनीसंग संवन्ध विच्छेद भएतापनि दुई छोरा भने, रविन्द्र रञ्जितकारसंगै छन्। एक छोरा कामको सिलसिलामा नेपालगञ्ज बस्दैआएका छन्भने, अर्को छोरा काठमाडौंमा उनीसंगै छन्।

हाल काठमाडौंको छाउनी स्थित घरमा ८२ बर्षका आमाबुवा, अविवाहित माइला भाइ र छोरासंग बस्दैआएका रविन्द्र रञ्जितकारको अधिकाँस समय नेपाल आदर्श माध्यमिक विद्यालयको काममा नै वित्ने गरेको छ। सामुदायिक विद्यालयमा दिनानुदिन विद्यार्थीहरुको कमी हुंदैजानुवाट चिन्तित बनेका प्रधानाध्यापक रविन्द्र रञ्जितकार यसलाई उकास्न आफू र आफ्नो विद्यालय परिवार कटिबद्ध भैरहेको सुनाउंछन्।

प्रस्तुत छ–नेपाल आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र रञ्जितकारसंग भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतले गरेको छोटो मिठो भिडियो अन्तरवार्ता

प्रकाशन मिति–२०७६ साल फागुन ९ गते शुक्रवार ।