काठमाडौं। कोरोनाभाइरसका संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले नेपाललाई लकडाउन गरेको अवस्थामा विविध समस्या आइपरेपनि त्यसको समाधान गर्न कठिनाइ भैरहेको छ। विशेषत स्थानीय निकाय वडाका वडा अध्यक्षहरुलाई अझ समस्या भैरहेको खुलासा काठमाडौं महानगरपालिका वडा नंबर २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका छन्।

वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमसंग विशेष कुराकानी गर्दै लकडाउनको अवस्थामा चाहेर पनि अनेक समस्याको समाधान गर्न नपाएको गुनासो गरेका छन्। वडा अध्यक्ष श्रेष्ठलाई वडावासीले अनेक समस्या तेर्साएर फोन गर्ने गरेको छ। धेरैको समस्या यो लकडाउनको अवस्थामा खाद्यान्न र औषधिको रहेको छ।

आवश्यक परेको खाद्यान्न र औषधि उपलव्ध गराइदिनु पर्यो भन्नेहरुको धेरै फोन आउने गरेको भएतापनि लकडाउनको अवस्थामा वाहिर निस्कन नपाउने तथा वडा कार्यालय पनि खोल्न नमिल्ने भएकोले व्यापक समस्या भएको वडा अध्यक्ष श्रेष्ठले भनेका छन्। कम से कम जनप्रतिनिधिहरुलाई लकडाउनको अवस्थामा विशेष व्यवस्थाका साथमा वाहिर आएर जनतालाई सेवा दिने वातावरण सरकारले दिएमा सक्दो सेवा गर्ने प्रतिवद्धता वडा अध्यक्ष श्रेष्ठले जनाएका छन्।

वडावासीहरुलाई वितरण गर्न ल्याइएको माक्स १ हजार थान त्यो पनि वितरण गर्न लकडाउनले गर्दा थन्किरहेको र वडामा महानगरपालिकाले विपद व्यवस्थापनका लागि पठाएको ३ लाख रुपैया पनि प्रयोग गर्न नपाएको दुःखेसो वडा अध्यक्ष श्रेष्ठको रहेको छ।

कोरोनाभाइरस संक्रमणववाट बच्न र बचाउन वडा नंबर २ ले गर्न सक्ने सक्दो सहयोग वडावासीलाई गर्न चाहेर पनि गर्न नसकेको बर्तमान अवस्थामा आफू स्वयंम् सेल्फ–क्वारेन्टाइनमा रहेको जनाउंदै महानगरपालिकाले पठाएको ३ लाख रुपैया खर्च गर्न पनि खरिद ऐनका कारण समस्या परेको वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।

कुनैपनि काम तत्काल गर्नपनि खरिद ऐन अनुसार टेण्डर आव्हान गरेर गर्नुपर्ने भएवाट त्यो ३ लाखको कुनै औचित्य नभएको वडा अध्यक्ष श्रेष्ठको आक्रोश पोखेका छन्।
कम से कम वडावासीलाई यतिखेर आवश्यक भनिएको खाद्यान्न र औषधि मात्र उक्त रकमवाट उपलव्ध गराउन सकेको भए धेरै राम्रो हुने वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।

खरिद ऐनले नरोक्ने भएको भए, प्रत्येक वडावासीलाई महानगरवाट प्राप्त उक्त रकमवाट आवश्यक औषधि तथा ५ किलो चामल र एक किलो दालमात्र भएपनि उपलव्ध गराउनेथिए भनेर वडा अध्यक्ष श्रेष्ठले आफ्नो मनको कुरा भनेका छन्। नेपाल सरकारले लकडाउनको अवस्थामा यसप्रकारका राहत प्याकेज तुरुन्त ल्याउनुपर्ने माग पनि वडा अध्यक्ष श्रेष्ठले गरेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १२ गते बुधवार ।