काठमाडौं। नेपालले कोरोनाभाइरस नियन्त्रणका लागि चीनबाट औषधि तथा उपकरण खरिद गरेको छन्। खरिद गरेका औषधि तथा उपकरण आइतबार आइपुग्ने भएका छन्। ती सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत ल्याउन लागिएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद गरिएकामा कोरोनासँग लड्न आवश्यक पर्ने सबै सामग्री रहेको नागरिक न्यूजलाई बताएका छन्। चीनले नेपाललाई कोरोनाभाइरसको जोखिमबाट जोगिन दिने भनेको औषधि तथा उपकरण भने कहिलेसम्म आउने हो, निश्चित भएको छैन।

चीनले नेपालस्थित दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने औषधि तथा उपकरण उपलब्ध गराउने बताएपछि सरकारले चिनियाँ सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै सरकारले कोरोनाभाइरससँग लड्न नेपाललाई आवश्यक पर्ने दर्जनभन्दा बढी स्वास्थ्य सामग्रीको सूची तयार पारेर स्वास्थ्य मन्त्रालयमार्फत चीन पठाएको थियो।


प्रकाशन मिति–२०७६ साल चैत १४ गते शुक्रवार ।