काठमाडौं । कोरोनाभाइरसको महामारीको कारण विश्व यतिखेर आक्रान्त रहेको छ। विश्वका प्राय देशमा लकडाउन रहेको छ। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउने यतिखेर प्रमुख माध्यम नै लकडाउन भैरहेको छ। यो लकडाउनको बेलामा धेरैलाई घरमा टाइमपास गर्न नै कठिन हुन थालेको छ। नेपालमा पनि लकडाउन भएको दशदिन वितिसकेको छ। यस अवधिमा धेरै नेपालीहरुले टाइमपास गर्ने माध्यम नेपाली चलचित्र हुन थालेको छ।

सिनेमा हलहरुवाट केही वर्षयता नेपाली चलचित्रको बजार गुमिरहेको वर्तमान अवस्थामा युट्युबवाट भने त्यो गुमेको बजार फर्किन थालेको छ। सिनेमा हलमाहरु चलेका तथा नचलेका नेपाली चलचित्रको बजार युट्युबमा भने राम्रो बन्दैगएको छ। त्यसमाथि, वर्तमान लकडाउनको अवस्थामा नेपाली चलचित्र युट्युबमा हेर्ने नेपाली दर्शकहरुको जमात देश तथा विदेशमा बृद्धि हुंदैगएको छ। यसलेगर्दा पनि लकडाउनको वर्तमान अवस्थामा घरैमा बसेर टाइमपास गर्ने विभिन्न माध्यमका रुपमा नेपाली चलचित्र पनि बन्दैगएको छ।

यसकारण पनि सिनेमा हलवाट गुमेको बजारलाई सुदृढ गर्न नेपाली चलचित्रका निर्माताहरु युट्युबमा बजार खोज्न थालेका छन्। कतिपय निर्माताहरुले सिनेमा हलहरुमा चलचित्र रिलिज गरेर घाटाको व्यापार गर्नुभन्दा डाइरेक्ट युट्युबवाट रिलिज गरेर मुनाफा कमाउनतिर पनि लागेको देखिन्छ। कतिपय निर्माता भने पहिला हल अनि युट्युब भन्नेहरु पनि पाइएको छ। यसक्रममा लकडाउनको वर्तमान अवस्थामा अघिल्लो हप्ता नयाँ चलचित्र पोई पर्यो काले रिलिज भएको छ। जसमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टि श्रेष्ठ लगायतको अभिनय रहेको छ। जुन युट्युबको ट्रेण्डिङमा निक्कै माथि पुगेको छ।

लकडाउनको दशौदिनमा आज विहीवार नायक जय किशन बस्नेतको पछिल्लो चलचित्र हिरो नंबर १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ। नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइृल भी च्यानल मार्फत सार्वजनिक भएको हो । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस चलचित्रले पनि युट्युबमा राम्रो मार्केट पाउने निश्चित छ। कमेडी बेसको यो गजबको चलचित्र भएको कारण लकडाउनमा नेपाली चलचित्रका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
चलचित्र हिरो नंबर १ हेर्न यहाँ क्लिक गर्नुस्–

प्रकाशन मिति–२०७६ साल चैत २० गते विहीवार ।