काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्ने र बचाउने पहिलो उपाय माक्स लगाउनु पनि हो। श्वास–प्रश्वासवाट कुनैपनि रोगको संक्रमण हुने भएको कारण संक्रमणवाट बच्न र बचाउन पहिला देखि डाक्टरी उपचारको रुपमा माक्स लाउने र लगाउने पुरानै प्रचलन हो।

कोरोनाभाइरसको महामारी विश्वभर फैलिएयता विश्वभर माक्सको निक्कै नै माग हुंदैआएको छ। नेपालमा पनि यसको व्यापक माग छ। व्यापक मागले गर्दा माक्स नेपालमा सुलभ रुपमा प्राप्त हुन सकेको अवस्था छैन्।

यसै बर्तमान अवस्थालाई मध्यनजर गरेर काठमाडौं महानगरपालिका वडा नंबर २६ सामाखुशी निवासी सिलाई उद्यमी भोला महर्जनले व्यक्तिगत रुपमा भएपनि माक्स सिलाउन शुरु गरेका छन्। भोला महर्जनको अगुवाईमा चारजना कालिगढले दैनिक २ सय माक्स उत्पादन गर्न थालेको छ।

उद्यमी महर्जनले हालसम्म २ हजारभन्दा बढी माक्स तयार पारिसकेका छन्। ती सवै माक्सलाई विभिन्न मेडिकलहरुको अर्डर बमोजिम तयार पारेको भिजन संसार डटकमलाई बताएका छन्। जति उत्पादन हुने गरेको छ–ती सवै दैनिक रुपमा नै मेडिकलमा नै पठाउने गरेको उद्यमी महर्जनले भनेका छन्।

व्यावसायिकता भन्दा सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले सक्दो माक्स तयार पारेर बजारमा पठाउने गरेको उद्यमी महर्जनको भनाई छ। स्वतःस्फूर्त रुपमा भोला महर्जनहरुले जस्तै विपदको बर्तमान अवस्थामा यसरी नै माक्स लगायतका सामाग्री उत्पादन गरेर बजारमा पठाउन सकेमा आपतमा सहयोग हुने निश्चित छ।

प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।