काठमाडौं। विश्वभर फैलिरहेको कोरोनाभाइरसको महामारीको आक्रान्तको कारण नेपालमा लकडाउन भएको पनि आज बैशाख १४ गते आइतवार ३४ दिन पुगिसकेको छ। ३४ दिन पुग्दा विपन्न वर्गलाई राहत प्रदान गर्ने कार्यको दोश्रो चरण पुगेको छ।

दोश्रो चरणमा पहिलो चरणमा जस्तो राहत लिनेको संख्यामा कमी हुन थालेको महशुश गरिएको छ। कतिपय डेरा गरेर वस्ने ज्याला–मजदूरी गर्नेहरु घर फर्किसकेको कारणवाट पनि पहिलो चरणमा जस्तो राहत लिनेको संख्यामा अलि कमी भएको ठहर काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन वहादुर विष्टको ठहर रहेको छ।

दोश्रो चरणसम्ममा आइपुग्दा काठमाडौं महानगरपालिका वडा नंबर ४ मा ५ हजार २ सय भन्दा बढी विपन्न वर्गलाई राहत प्रदान गरिसकेको छ। महानगरपालिकाको बजेटले नपुगेर स्थानीय समाज–सेवी तथा विभिन्न संघ–संस्थाले प्रदान गरेको राहतलाई वडाको रोहवरमा वितरण गरिएको जानकारी वडा अध्यक्ष विष्टले दिएका छन्।

आइतवार चण्डोल मार्गमा समाज–सेवी अनिष कुमार शर्माले वडाको रोहवरमा १ सयजनालाई राहत प्रदान गरेका थिए। समाज सेवी शर्माले आइतवार सहित वडा नंबर ४ मा लोकप्रिय वडा सदस्य दिनेश महर्जनको अनुरोधमा तीनपल्ट राहत वितरण गरिसकेका छन्।

वडा नंबर ४ क्षेत्राधिकार रहेका बागमती प्रदेशका सांसद नारायण सिलवालले प्रदेश सरकारको नियम कानून अनुरुप स्थानिय सरकारले सहज रुपमा विपन्न वर्गलाई राहत प्रदान गर्ने कार्य भैरहेको बताए।

वडा नंबर ४ मा विपद व्यवस्थापन समिति संयोजक समेत रहेका वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले वडा नंबर ४ मा व्यवस्थित रुपमा क्वारेन्टाइनको व्यवस्था गरेको तथा संक्रमणको आशंका गरिएकाहरुको र्यापिड टेष्ट गर्दा सवैको नेगेटिभ आउंदा वडावासीहरुलाई राहत महशुश भएको बताएका छन्।

त्यसैगरेर, महिला वडा सदस्य सरु अधिकारीले राहत लिन आउन नसकेका विपन्न बृद्ध–बृद्धा तथा गर्भवती महिलाहरुलाई घरैमा पुगेर राहत दिने कार्य भएको पनि प्रतिक्रिया दिएकी छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।