काठमाडौं। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं उपत्यकाबाहिरबाट आउनेहरुको कोरोनाभाइरस जाँच गर्न थालिएको छ। उपत्यकामा जिल्ला वाहिरवाट आउनेहरुवाट कोरोनाभाइरसको संक्रमण फैलाउने व्यापक आशंका हुन पुगेको कारण अस्पतालले अनिवार्य जाँच थालेको हो।

अस्ति आइतबारदेखि काठमाडौं बाहिरबाट आउनेको भीड अस्पतालमा बढ्न थालेको छ। परीक्षण गरिदिनु भन्दै हिजो बुधबार ५ सय जना अस्पताल आएको निर्देशक डा.सागरकुमार राजभण्डारीले कान्तिपुर दैनिकलाई बताएका थिए। तीमध्ये ३ सय ५० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

यसअघि अस्पतालले विदेशबाट फर्किएका र कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्रै स्वाब संकलन गरेर जाँच गर्न पठाउने गरेको थियो। बुधबारदेखि संक्रमण फैलिएको जिल्लालाई ट्राभल हिस्ट्री मान्ने गरेको हो।

पछिल्लो समय जिल्लाबाट राजधानी काठमाडौं छिर्नेहरू अन्य रोगको उपचार गर्न, शल्यक्रिया गर्न या कुनै कामले उपत्यका छिरेको बताउँछन्। अधिकांश व्यक्ति वीरगन्ज, जनकपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेबाट परीक्षण गरिदिनु भन्दै आइरहेको अस्पतालले जनाएको छ। संक्रमण नफैलिएको जिल्लाबाट आउनेलाई भने कोरोनाको लक्षण भएमात्रै परीक्षण गर्ने गरिएको डा. राजभण्डारीको भनाई रहेको छ। लक्षण नभएकालाई ओपीडी कार्डमा ‘कोरोना टेस्ट गर्न आवश्यक छैन’ भनेर लेखिदिने गरिएको छ।

अस्पतालमा आउने अधिकांश व्यक्ति अहिले घरबेटी, समुदाय र वडा कार्यालयको दबाबमा आउने गरेका छन्। त्यस्तै बैंक, सरकारी कार्यालय र अन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरू पनि आइरहेका छन्। काम सुरु गर्नुअघि जाँच गर्नैपर्ने कार्यालयको दबाबका कारण उनीहरू टेकु आइरहेका हुन्।

टेकु अस्पतालमा अहिले कोभिड–१९ का ३ जना बिरामी भर्ना छन् । तीमध्ये २ जना मंगलबार बेलुका भर्ना भएका हुन् भने अर्का एक जना पहिलेदेखि उपचार्थ थिए। अस्पतालको आइसोलेसन वार्डमा उनीहरूको उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य सामान्य रहेको डा.राजभण्डारीले भनेका छन्।

त्यस्तै, संक्रमण शंकास्पद ८ जना भर्ना भएका छन्। उनीहरूको रिपोर्ट आएको छैन। कोरोनाबाट गम्भीर बिरामीका लागि अस्पतालमा २० शय्याको आईसीयू कक्ष निर्माण गरिएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ १ गते विहीवार ।