काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक बर्ष प्रदान गरिने ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद उत्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा वितरण गरेको ज्येष्ठ नागरिक विशेष सम्मान भत्तामा विवाद उत्पन्न भएको हो।

विवाद उत्पन्न हुनुमा कुनै ठूलो कारण नभइकन सानो कारण नै हो। त्यो कारण पछिल्लो लहरको ज्येष्ठ नागरिकले विशेष सम्मान भत्ता बुझिलिने क्रममा माथिल्लो लहरको हस्ताक्षर कोलममा भूलबशः ल्याप्चे हस्ताक्षर गरेर आफ्नो विशेष भत्ता नगद १२ हजार बुझेर लगेपछि भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित गीताञ्जली मार्ग निवासी ९६ बर्षिया चिजमाया लिम्बुको क्रम संख्या नंबर १७ मा सोही क्रम संख्याको १८ नंवरमा रहेकी कृष्णकुमारी सेढाईले ल्याप्चे हस्ताक्षर भूलबशः गरेर ज्येष्ठ नागरिक विशेष भत्ता बुझेपछि भएको उत्पन्न विवादले वडा कार्यालयमा विवाद तथा कुटाकुटको अवस्था समेत उत्पन्न भएको थियो।

हजुरआमा चिजमाया लिम्बुको विशेष ज्येष्ठ नागरिक सम्मान भत्ता बुझ्न आएका सुमन लिम्बु र सरोज गुरुङले दश मिनेट पनि नकुरिकन सेवाग्राही तथा वडाका कर्मचारीलाई हात हाल्ने तथा जनप्रतिनिधिहरुलाई पनि आक्रमण गर्ने प्रयास भएको वडा अध्यक्ष मोहन वहादुर विष्टले भिजन संसार डटकमको भिडियो वार्तामा भनेका छन्।

वडा अध्यक्ष विष्टले सुमन र सरोजलाई १० मिनेट धैर्यधारण गरेर वस्नु र आफूले भएको गडबढीलाई पत्ता लगाएर तथ्य जानकारी दिन्छु भन्दाभन्दै तथानाम गाली–गलौज गरेर कुटाकुट गर्ने कार्य गरेको वताएका छन्। वडामा कुटाकुटको अवस्था आएपछि आफूले प्रहरी वोलाउन वाँध्य भएको वडा अध्यक्ष विष्टको भनाई रहेको छ।

असार ८ गते मध्यान्हतिर भएको यो घटनाको कारण सुमन लिम्बु र सरोज गुरुङ महाराजगञ्ज प्रहरी कार्यालयको हिरासतमा रहेका छन्। सानो मिस्टेकवाट उत्पन्न भएको घटनाको कारण ठूलो विवाद देखिएपछि आफूले वडा अध्यक्ष विष्टलाई अभिभावकत्व लिएर साम्य पार्न अनुरोध गरेको नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति रामप्रसाद न्यौपानेले वताएका छन्।

उक्त अभिभावकत्व लिएर सुमन र सरोजलाई प्रहरी हिरासतवाट छुटाइदिएको भए, यति ठूलो विवाद नै नहुने सभापति न्यौपानेको भनाइ छ। वडा अध्यक्ष विष्ट भने वडा कार्यालयमा अराजक घटना उत्पन्न गराएपछि उनीहरु विरुद्ध प्रहरीमा उजुरी गर्न आफू वाँध्य भएको वताउंछन्। चिजमाया लिम्बुको ज्येष्ठ नागरिक विशेष सम्मान भत्ता वडा कार्यालयमा सुरक्षित रहेको र यसमा कुनै जनप्रतिनिधिले कीर्ते नगरेको तथा कोही दोषी नभएको जिकिर गर्दै वडा अध्यक्ष विष्टले नेपाली कांग्रेसले यस घटनालाई राजनीतिक रंग दिएको आरोप लगाएका छन्।

कीर्ते गरेको आरोपमा पीडितहरुले अख्तियार अनुसन्धान आयोगमा वडा अध्यक्ष विष्ट लगायत दुईजना वडा सदस्यहरुलाई छानविनका लागि उजुरी दिइसकेको आफूलाई जानकारीमा आएको सभापति न्यौपानेले भनेका छन्।

आफूहरुवाट कुनैपनि प्रकारको कीर्ते नगरेको र आफूहरुले वडामा गरेको लोकप्रिय कार्यहरुवाट जलन भएकाहरुले यसप्रकारको कार्य गरेर बदनाम गराउने यो ठूलो षडयन्त्र भएको जिकिर पनि वडा अध्यक्ष विष्टको रहेको छ। यस घटनामा आफूहरु निश्कलंक भएको कारण अख्तियारमा गएर पनि आफूहरु उभिन तयार भएको वडा अध्यक्ष विष्ट भन्छन्।

प्रस्तुत छ–यस घटना संवन्धमा काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन वहादुर विष्ट र नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति रामप्रसाद न्यौपानेले दिएको भिडियो जानकारी ।

प्रकाशन मिति–२०७७ साल असार १२ गते शुक्रवार ।