काठमाडौं। नेपाली फेसन बजारमा दिनानुदिन नयाँ फेसन आइरहेको पाइएको छ। सोही फेसनमा रम्ने तन्नेरी जमातदेखि अग्रज जमातको पनि त्यतिकै प्रतिस्पर्धा चल्ने गरेको पाइएको हो। अझ फेसन त्यही हो, जुन तपाईंलाई सहज लाग्छ। आफूलाई सहज हुने फेसन गर्नु नै राम्रो हो भनेर विश्व प्रसिद्ध फेसन डिजाइनरहरुको भनाइ रहेका छन्। आफुलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो। यस्तो पहिरनले तपाईंको आत्मविश्वास बढाउँछ। अर्थात पहिरनको कारण कुनै किसिमको झन्झट व्यहोर्नुपर्दैन।

विश्व बजारमा उर्लदो फेसनेबल फेसन नेपालमा पनि उर्लेको छ। जसको कारण नेपालमा पनि थुप्रै फेसन डिजाइनर छन् । फेसन डिजाइनिङ गर्ने बुटिक पनि जताततै खुलेका छन् । तर, यि सबै बजार निर्देशित शैलीलाई पच्छ्याइरहेका छन्। फेसन के हो भन्ने कुराको सही जवाफ उनीहरुसँग पनि छैन, जो आफुलाई फेसन डिजाइनर भन्न रुचाउँछन् । हाम्रा अधिकांश फेसन डिजाइनरको बुझाई के छ भने, झट्ट हेर्दा चिटिक्क देखिने । भिडमा अलग देखिने । सबैको आँखा पर्ने पहिरन नै फेसन हो । साथै विश्व बजारमा जस्तो शैली चलेको छ, त्यही शैलीलाई पच्छ्याउनु नै फेसन हो । तर, यी सबै परिभाषा र बुझाई आफैमा पूर्ण छैनन् । खासमा फेसन त्यही हो, जुन पहिरन तपाईंलाई सहज लाग्छ ।

तपाईं हिँडडुल गर्नुहुन्छ, कार्यलयमा काम गर्नुहुन्छ, व्यापार व्यवसाय गर्नुहुन्छ। यावत् काम गरिरहँदा तपाईर्ंलाई आफ्नो पहिरन एकदमै सहज र अनुकुल महशुस हुनुपर्छ। आफ्नो शरीर र काम अनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने तपाईंले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन। आफुले लगाएको पहिरन सहज लाग्छ ।

यसले गर्दा तपाईंको आत्मविश्वास पनि बढ्छ। वास्तवमा हामीले लगाएको पहिरनले हाम्रो आत्मविश्वास बढाउने काम पनि गर्नुपर्छ। असहज पहिरनमा तपाईं जतिसुकै चमकदमक देखिएपनि त्यसले तपाईंको आत्ममनोवल कमजोर बनाइरहेको हुन्छ । जबकी पहिरनले मान्छेको मनोवल पनि बढाउनुपर्छ। त्यसैले बजारमा चलेको वा स्टाइसिल देखिने चक्करमा भद्दा, असहज पहिरन लगाउन हुँदैन।

फेसन भन्नसाथ हामी बजारमा चलेको ट्रेन्डलाई बुझ्ने गर्छौं । वा अरु मान्छे खासगरी सेलिब्रेटीले अपनाएको पहिरन शैलीलाई बुझ्ने गर्छौं। अरुलाई चिटिक्क र सुहाउँदो देखिएको पहिरन देखेपछि हामी लोभिन्छौं। अतः हामीपनि सोही किसिमको पहिरन शैली अपनाउने प्रयास गर्छौं। तर, एउटा व्यक्तिलाई जुन पहिरन सुहाउँछ, तपाईंलाई त्यो सुहाउँदो नहुन सक्छ। एउटा व्यक्तिको सौन्दर्य जुन किसिमको रंगले खुल्छ, तपाईंको सौन्दर्य त्यही रंगले नखुल्न सक्छ।
अरुको देखेर होइन, आफैलाई हेरेर पहिरन शैली अपनाउनुपर्छ।

आफ्नो शारीरिक वनौट, वर्ण, उचाई, रुपरंग अनुसार सही किसिमको पहिरन छनौट गर्न सक्नुपर्छ। कुनै हिरो वा हिरोइनले जुन पहिरन लगाउँदा आकर्षक देखिएका छन्, त्यसले तपाईंको सौन्दर्य नखुल्न पनि सक्छ । किनभने उनीहरुको शारीरिक ढाँचा र तपाईंको शारीरिक ढाँचा फरक छ। आफ्नो शारीरिक ढाँचा अनुरुपको पहिरन नै आफुलाई सुहाउँदो हुन्छ।

फेसन भनेको समयानुकल हुनुपर्छ। जाडोको मौसममा तपाईंले त्यस्तो पहिरन शैली अपनाउनुपर्छ, जसले शरीरलाई न्यानो प्रदान गर्छ। स्टाइलिस एवं ग्ल्यामरस देखिने चक्करमा छोटो, पारदर्शी, खुला पहिरन लगाउनु हुँदैन।
ठिक यसैगरी गर्मीमा तपाईंले यस्तो पहिरन लगाउनुपर्छ, जसले शितलता प्रदान गर्छ। खुला र सहज पहिरन लगाउनुपर्छ। पसिना सोस्न सक्ने पहिरन हुनुपर्छ। वर्षायाममा लगाइने परिहन जाडो वा गर्मीको पहिरन भन्दा भिन्न हुनुपर्छ। यतिबेला लगाइने पहिरन हल्का हुनका साथै पानीले भिजेर पनि खास असर नगर्ने किसिमको हुनुपर्छ। वा पानीले भिजेपनि चाडै सुक्ने किसिमको हुनुपर्छ। यसरी मौसम अनुकुल पहिरनको छनौट गर्नु नै फेसनेवल हुनु हो।
प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।