काठमाडौं। मल्लकालदेखि प्रचलनमा आएको आज गाईजात्रा पर्व परेको छ। विशेष गरेर काठमाडौं उपत्यकामा बडा तामझामका साथ मनाइने यो गाईजात्रा पर्व केही बर्षअगाडि देनि काठमाडौं उपत्यका वाहिरका विभिन्न शहरहरुमा पनि गाईजात्रा पर्व मनाइन थालेको छ।

गाईजात्रा पर्व विशेष गरी नेवार समुदायले मनाउने पर्व भएतापनि हिजोआज गैरनेवारहरुले पनि मनाउन थालिएको छ। यस पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने प्रचलन छ।

यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ। शहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ। काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ।

कोरोनाभाइरस (कोभिड – १९) को संक्रमण वढ्दै गएपछि यसपटकको गाईजात्रा काठमाडौं महानगरपालिकाले घरघरमा सिमित गरेर मनाउन भनिएको छ। भीडभाड गरेर पोहोर–परार जस्तो नमनाउन भनिएको छ। यसले गर्दा विचार पु¥याउनुपर्ने अवस्था रहेका छ। सरकारले बालबालिका र जेष्ठ नागरिकलाई भिडभाडमा नल्याउन भनेपछि यसपटको गाईजात्रा विगतमा जस्तो रौनक भने नहुने भएको छ।

गाईजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गाईजात्राको अवसरमा राष्ट्रिय सभागृह, नाचघर तथा प्रज्ञाभवन लगायतका थियटरहरुमा गर्ने गरिएका गाईजात्रे हांस्य–व्यंग्य कार्यक्रमहरु टेलिभिजन तथा युट्युब च्यानलहरुमा हांस्य कलाकारहरुले सिमित गरेका छन्। थियटरहरुमा पेट मिचिमिची हसाउने हांस्य व्यंग्यात्मक कार्यक्रमहरु कोरोनाकै कारण स्थगित गरेर ती गाईजात्रे कार्यक्रम टेलिभिजन तथा युट्युब च्यानलहरुमा लगिएको कलाकारहरुको भनाई छ।


प्रकाशन मिति–२०७७ साल साउन २० गते मंगलवार ।