काठमाडौंको शान तथा गौरबको प्रतिकको रुपमा रहेको असन बजार हिजोआज सौरम्य अनि सफा बन्दैगएको छ। फुटपाथको पसलको कारण अति अव्यवस्थित र भीडभाडमय हुने गरेको असन देखिको इन्द्रचोक क्षेत्रको भित्री बस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन भएयता असन–इन्द्रचोक क्षेत्रको व्युटीफिकेसनमा बृद्धि हुन थालेको हो।

जागरुक युवा समाजले यो अभियान संचालन गर्न थालेयता अझ राम्रो बन्दैआएको हो। भित्री शहरको सुन्दरतालाई निरन्तरता दिने क्रममा विभिन्न घटना–परिघटनाले स्तब्धता पार्ने गरेको भएतापनि जागरुक युवा समाजले यसलाई निरन्तरता दिएको छ।

निरन्तरताको १०० दिन सोमवार पुगेको छ। निरन्तरताको १०० औं दिन पुग्दा समाजका युवाहरुले अझ यस कार्यक्रमलाई जागरुक रुपमा लाने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। समाजका अध्यक्ष चन्द्रकुमार महर्जनले आफूहरुको संस्था कुनै उदेश्यले भन्दा पनि समस्या तथा बाँध्यताले जागरुक रुपमा स्थापना भएको संस्था भएको वताएका छन्।

असन–इन्द्रचोक, किलागल–नरदेवी लगायतका काठमाडौंका कोर एरियाहरुमा फुटपाथ पसल अनाधिकृत रुपमा सञ्चालन गरिदा स्थानीय लगायत सर्वसाधारणलाई हिंडडुल देखि आपतकालिन अवस्थामा निक्कै भीडभाड हुने र ट्राफिक जामले व्यापक समस्या पारेको तथ्यलाई कसैले नकार्न सक्दैन ।

यही समस्याले स्थापना भएको जागरुक युवा समाज स्थापनाको १०० औ दिनमा समाजले गरेको गतिविधिहरुको प्रकाश पारेका थिए। समाजले ठेलागाडा लगायतका व्यवसायलाई सीडीओ कार्यालयले टाइमकार्डमा सञ्चालन गर्न पाउने गरेको निर्णयको पनि विरोध गरेका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र ३० गते मंगलवार ।