ललितपुर । कोरोना कहरको विषम परिस्थितिमा तीन महिनाको घरभाडा तिर्न नसक्दा परिवार सहित रोडमा बास बस्नुपर्दाको पीडा गोविन्द नगरकोटीलाई बढी थाहा छ।

इमाडोलको घरधनीले तीन महिनाको बहाल तिर्न नसकेपछि कोठामा तालाबन्दी गरिदिएपछि लगनखेल स्थित पाटीमा बास बस्दैआएका गोविन्दको पत्नी सरस्वती नगरकोटीको रगत बग्ने रोगले अर्को पीडा थपिदिएको छ।

त्यसमाथि, भोकाएका तीन बर्षका छोरा कृष्णा बारम्बार रोइरहंदा ज्याला–मजदुरी गरेर परिवार पाल्दैआएका गोविन्द नगरकोटीको मन बारम्बार भक्कानिने गरेको छ। यिनै गोविन्द नगरकोटीको यथास्थितिलाई मध्यनजर गरेर क्यानडाको टोरेन्टो स्थित युट्युब च्यानलका सञ्चालक, भिडियो सम्पादक सहयोगी नेपाली मनले भिजन संसार डटकम मार्फत पठाएको नगद सहयोग राशी नेरु.१९ हजार वितरण गर्ने कार्य भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ को लगनखेलस्थित कार्यालयमा गोविन्द  नगरकोटीको परिवारलाई वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले हस्तान्तरण गरेका छन्।

क्यानडावाट सहयोगी नेपाली मनले पठाइएको सहयोग रकम घरभाडा तिर्ने तथा पत्नीको स्वास्थ्य उपचार गर्ने कार्यमा आफू लाग्ने प्रतिवद्धता पनि गोविन्द नगरकोटीले उक्त अवसरमा गरेका छन्। सहयोगी मनलाई लोकप्रिय वडा अध्यक्ष श्रेष्ठले आभार पनि व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७७ साल असोज १५ गते विहीवार ।