काठमाडौं। नेपालभाषामा निर्मित बहुचर्चित राजमति कुमति बोलको फिमेल भर्सनको गीतको भिडियोको मौलिक सिर्जना हुबहु चोरी गरेर नयाँ भिडियो निर्माण भएको छ। जसको कारण यसका सर्जक स्रष्टाहरुको बौद्धिक सिर्जनामाथि ठूलो आघात पुगेको स्रष्टाहरुको भनाई छ।

नेपालभाषाको बहुचर्चित फिल्म राजमतिको हिट गीत राजमति कुमतिलाई जवाफी फिमेल भर्सनको रुपमा अग्रज चलचित्र अभिनेता तथा निर्देशक पवन जोशीले मौलिक रुपमा सिर्जना गरेको गीतको भिडियो बर्ष दिन अगाडि नै तयार भएर हाइलाइट नेपालको युट्युब च्यानलवाट विश्वव्यापी प्रसारण भैसकेको यथार्थता छ।

लाखको भ्यूअर्स क्लबमा समेत पुगेर निक्कै चर्चामा रहेको सोही गीतको भिडियोलाई परिमार्जित गरेर काजी प्रोडक्सनले स्रष्टा तथा सर्जक कसैसंग पनि अनुमति नलिइकन नयाँ भिडियो तयार गरेर रिलिज गरेकोमा स्रष्टाहरुले आपति जनाएका छन्।

गीतका गीतकार तथा भिडियोका निर्देशक पवन जोशी, सम्पादक तथा छायाँकार राजेश शाक्य, गायिका अगिना तण्डुकार र निर्माता भाइराजा जोशीले प्रेस विज्ञप्ति जारी गरेर बौद्धिक चोरीको विरोध गरेका छन्। विना अनुमति निर्माण गरेर स्रष्टालाई आघात पुर्याएको ठहर गरेर तत्काल उक्त भिडियो बन्द गर्न र गराउन भनिएको छ। अन्यथा कानूनी उपचारमा आफूहरु लाग्ने पनि बताएका छन्। स्रष्टाहरुको व्यापक विरोध पश्चात काजी प्रोडक्सनले चोरी गरेर निर्माण गरेको भिडियो आफ्नो युट्युब च्यानलवाट हटाएको पाइएको छ।
प्रकाशन मिति–२०७८ साल जेठ ६ गते विहीवार ।