काठमाडौं। पचासको दशकमा अत्यन्त चर्चित गीत मेरी ओकिलीका स्रष्टा सर्जक प्रतिष्ठित गायक श्रीजन ताम्राकार अमेरिकामा छन्। विगत पन्ध्र बर्षदेखि अमेरिका नै रहेका गायक ताम्राकार अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्ड राज्यको अध्यक्ष पनि हुन् ।

नेपाली कला र कलाकारका लागि हालै मात्र अमेरिकामा इमर्जेन्सी फन्ड स्थापना गरेर विलकुलै नयाँ कार्य गरेर सवैको वाहवाही पाएका गायक ताम्राकार अमेरिकामा नेपाली कलाकार तथा नेपाली कसैलाई आपत–विपद पर्दा जुनसुकै अवस्थामा हरदम सहयोग गर्न र गराउन अत्यन्त क्रियाशील छन्।

परदेशमा नेपालीलाई नेपालीले सहयोग गर्न आवश्यक भएको मान्यता राख्ने ओकिली गायकका रुपमा ख्यातिप्राप्त गायक ताम्राकारको एउटै मात्र लक्ष्य रहेको छ–त्यो हो, परदेशमा नेपाल र नेपाली कला तथा संस्कृति चिनाउने ।

अमेरिकाको मेरिल्याण्ड राज्य बाल्टिमोरमा पहिलो पल्ट नेपालको ऐतिहासिक जात्रा इन्द्रजात्रा मनाउने कार्यमा पनि गायक ताम्राकारको पनि ठूलै पहल र अग्रता रहेको छ। कोरोना महामारीको कारण गत बर्ष र यो बर्षमात्र इन्द्रजात्रा मनाउने कार्य नभएको जानकारी दिने गायक ताम्राकारले यसअघिका बर्षहरुमा बर्षेनी इन्द्रजात्रा मनाउने गरेको भनेका छन्।

समयले साथ दिएमा कोरोना महामारी नियन्त्रण भएमा आगामी बर्ष भव्य रुपमा इन्द्रजात्रा मनाउने वताएका छन्। बेलाबखत समयअनुसार, विभिन्न कार्यक्रम गर्दैआएका इनास मेरिल्याण्डका अध्यक्ष ताम्राकारले यो बर्ष मेरिल्याण्डवासी नेपालीहरुका लागि सन्देशमूलक अनलाइन भिडियो प्रतियोगिता हुने भनेका छन्।

जसमा मेरिल्याण्डवासी नेपालीहरुले गायन, नृत्य, संगीत, अभिनय, हास्यब्यंग्य, उद्घोषण जस्ता विभिन्न सृजनात्मक प्रतिभाहरुको आकर्षक तथा सन्देशमुलक प्रस्तुतिहरु अनलाइन भिडियो मार्फत प्रस्तुत गरेर प्रतियोगितामा भाग लिन सकिने भएको छ।

त्यस्तै, नेपाली साहित्यकारहरुको स्रष्टा भेला गर्ने तयारीमा पनि इनास मेरिल्याण्ड लागिरहेको जानकारी पनि ताम्राकारले दिएका छन्। विगत पन्ध्र बर्षदेखि अमेरिकामा रहेतापनि हरेक दिनजस्तो आफू नेपालमा नै भएको अनुभव हरदम भैरहेको वताउने ताम्राकार दशैंको बेला उही न्यूरोड अनि असनको भीडमा आफू हराइरहेको जस्तो अनुभव भैरहने गरेको भावनात्मक कुरा गर्छन्।

परदेशमा नेपाल पोख्ने गायक ताम्राकारको कोभिडको कारण केही समय स्वर सुक्दा समेत अनवरत नेपालीहरुको सेवामा लाग्न पछि नपरेका आफूले हरदम हरपल सक्दो सहयोग गर्दैजाने वताउंछन्।

प्रकाशन मिति–२०७८ साल असोज २८ गते विहीवार ।