काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरले क्षेत्रिय सम्मेलन गर्ने भएको छ। हामी नेपाली ग्लोबलको केन्द्रिय कार्यालय अमेरिकाले न्यूयोर्क नजिकको कनेक्टिक राज्यमा आउने नोभेम्बर २४ का दिन भव्य रुपमा दोश्रो अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको पूर्वसन्ध्यामा बेल्जियम च्याप्टरले क्षेत्रिय सम्मेलन गर्न लागेको हो।

यो आउने नोभेम्बर १ का दिन भव्य रुपमा क्षेत्रिय सम्मेलन गर्न लागेको जानकारी हामी नेपाली ग्लोबल बेल्जियमका काउन्सिलर गीता लामाले भिजन संसार डटकमलाई बताएकी छन्। त्यसको तयारीका लागि आफूहरु अत्यन्त क्रियाशील भएर लागिरहेको जानकारी पनि काउन्सिलर लामाले भनेकी छन्।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाका अनुसार, बेल्जियम सहित हालसम्म विश्वभरका ४० राष्ट्रमा हामी नेपाली ग्लोबल विस्तार भैसकेको छ।
विश्वभर रहेका नेपालीहरुलाई कुनैपनि आपत–विपत पर्दा नेपालीहरुव्दारा नै सहयोग गर्ने माध्यमको रुपमा हामी नेपाली ग्लोबल रहेको छ। यही उदेश्य तथा सोच अनुरुप हामी नेपाली ग्लोबलको स्थापना भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भनेका छन्।

त्यसको अलावा हामी नेपाली ग्लोबलको माध्यमवाट मातृभूमि नेपाललाई आपत–विपत पर्दा पनि विभिन्न सहयोग गर्ने कार्य गर्दैआएको छ। कोरोना महामारीको बेला अमेरिका, नेपाल लगायतका विभिन्न देशमा रहेका नेपालीहरुलाई विभिन्न राहत सहयोग दिने कार्य पनि गरेको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले दिएका छन्। हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन नोभेम्बर २५तारिखका दिन समापन हुने भएको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक २ गते मंगलवार ।