–प्रकाश सायमी
58 वर्ष अगि बनेको ‘गाइड’ फिल्म आजसम्म कै बलिउडको उत्कृष्ट फिल्म मध्ये एक हो। गाइडमा अभिनय गर्नु अगि देवआनन्दले 68 ओटा हिन्दी फिल्ममा नायक भएर अभिनय गरिसकेका थिए ।
नायक देवआनन्द आफ्नो फिल्मी भूमिकामा मृत्यु भएको एउटा मात्रै फिल्म हो गाइड। देवआनन्दले गाइड आफ्नै घरेलु व्यानर नवकेतन फिल्म्सको व्यानरमा बनाएको ११ औँ फिल्म हो।
आर. के. नारायणको ‘द गाइड’ नामक् उपन्यासमा आधारित यो फिल्म न्यूयोर्क को स्टारेटन प्रोडक्शन र नवकेतन इन्टरनैशलले संयुक्त रुपमा बनाउने कुरा थियो तर विदेशी निर्देशक टैड डैनिलवस्की ले धेरै हस्तक्षेप गरे पछि देव आनन्दले अँग्रेजी अलग्गै र हिन्दी अलग्गै बनाउने निर्णय गरेपछि उनका दाजु चेतन आनन्दले फिल्म छोडे ।
चेतन आनन्दले फिल्म छोडेपछि उनका भाइ विजय आनन्दले निर्देशनको बाग्डोर सम्हाले ।
देव आनन्दले यस फिल्मका लागि आफ्ना प्रिय गीतकार साहिरको ठाउँमा शैलेन्द्रलाई भित्र्याएका थिए भने संगीतमा एसडी बर्मनलाई दोहोर्याए। बर्मन हृदयाघातका कारण छ महिना थलिँदा पनि देव आनन्दले उनलाई नै पर्खेर बसे संगीत गर्नका निम्ति । यो वर्ष एसडी बर्मनलाई विरामी भएका कारण बलिऊडका सबै निर्माता निर्देशकले दिइसकेको काम पनि फिर्ता लिएका थिए ।
गाइडले सन् 1965 को Film Fare Awards र्को लगभग सबै पुरस्कार पाए तर संगीतमा एसडी बर्मनले कुनै पुरस्कार पाएनन् । यस फिल्मको लागि बर्मनले संगीत गरेका गीत आज पनि लोकप्रिय छन्।
यस फिल्मको सम्पूर्ण छायाँकन उदयपुर , गुजरात, लिम्बिडीमा भएको थियो ।
नायक राजु महात्मा भएपछि भोक हडताल बसेको दृश्य गुजरातको बारामतीमा छायाँकन गरिएको थियो । त्यहाँ राजु गाइड भन्छन् ,
“न दुख है न सुख है
न दिन न दुनिया
ना इन्सान ना भगवान
सिर्फ मैं ! मैँ ! मैँ !”
‘गाइड’ पहिलो हिन्दी फिल्म थियो जसलाई देव आनन्द र निर्देशक विजय आनन्द Oscar Awards फिल्म महोत्सवमा अफिसियल प्रवेश गरेका थिए।
गाइडको प्रिमियर शोमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री इन्दिरा गान्धी पनि हेर्न आएकी थिइन् तर उनलाई कलाकार बस्ने सीट पछाडि राखिएको थियो।
फिल्म हेरिसके पछि गान्धीले देव आनन्दलाई भनिन् , “तपाइँ अलि छिटो बोल्नु हुँदो रहेछ। ” देव आनन्दले प्रतिक्रियामा यति मात्र भने , “हो, म छिटो बोल्छु। “
गाइडको अँग्रेजी संस्करणमा लेखक पर्ल एस बक ले कलम चलाएकी थिइन् भने आर. के. नारायणको कृतिमा बनेको यो नै पहिलो चलचित्र थियो । यसपछि उनका कथा कृतिमा टीभी सिरीजहरु बनेका छन्।